संसदमा महासचिव गुटेरेसको सम्बोधन सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

संसदमा महासचिव गुटेरेसको सम्बोधन सुरु



काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टियो गुटेरेसले सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन सुरु गरेका छन् । त्यसअघि सभामुख देवराज घिमिरेले महासचिव गुटरेसलाई सम्बोधनका लागि अनुमति दिए ।

महासचिव गुटेरेस सङ्घीय संसद भवन नयाँ बानेश्वर पुग्दा सुरुमा सङ्घीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमलगायतले स्वागत गरे। महासचिव गुटेरेस भवन प्रवेश गरेपछि सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना मगर, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायतले स्वागत गरे ।

सो अवसरमा महासचिव गुटेरेसले र सभामुख घिमिरे, राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना, उपभामुख राना मगर, राष्ट्रियसभा उपाध्यक्ष अर्यालसँग संक्षिप्त भेटवार्ता गरे ।

महासचिव गुटरेसको स्वागतका लागि सङ्घीय संसद भवनलाई सिङ्गारिएको थियो । भवनको मुख्यद्वारदखि नै नेपालको झण्डा, तुल ब्यानर राखिएको छ । आजको बैठकमा सङ्घीय संसद सचिवालयले सांसदहरुलाई राष्ट्रिय पोशाकमा उपस्थित हुन आग्रह गरेको थियो ।

संसद भवनमा पूर्वसभामुख दमननाथ ढुङ्गाना र अग्निप्रसाद सापकोटा, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, यहाँस्थित कुटनीतिक नियोगका प्रतिनिधि, नेपाल सरकारका उच्च अधिकारी, प्राध्यापक, पूर्वसांसद तथा सञ्चारकर्मीको उपस्थिति छ ।

प्रकाशित : १४ कार्तिक २०८०, मंगलवार १६:३१