महोत्तरी । आफ्नो फसल (बाली)ले राम्रो बजार नपाएको आमकिसानको गुनासो बढिरहेका कारण महोत्तरीको गौशालामा कृषि उपज केन्द्र निर्माण गर्न थालिएपछि यस क्षेत्रका किसान उत्साहित भएका छन्।
खेतीपातीका लागि आवश्यक वस्तुको अभावबीच दुःखले उब्जाइएको फसलले बजार नपाउँदा दिक्क बनेका किसानलाई केन्द्र निर्माण थालिएपछि ढाडस मिलेको हो।
‘न समयमा बिउ–मल पाइन्छ, न सिँचाइको भरपर्दो उपाय, त्यही पनि हामी नंग्रा खियाएर जेनतेन बाली उब्जाउँदैछौँ,’ गौशाला– ४ का ६५ वर्षीय चन्द्रमान तामाङ भन्छन्, ‘यसरी उब्जाइएको फसलले पनि राम्रो बजार कहिल्यै पाएको थिएन, बल्ल कृषि उपज केन्द्र बन्न थालेछ।’
कृषि उपज केन्द्रको भवन बनिसकेपछि आफ्नो उत्पादन बेच्न, भण्डारण गर्न सहज हुने भएकाले किसानलाई आस पलाएको छ। जिल्लामै फलफूल (आँप, लिची) र तरकारी उत्पादनको ‘पकेटक्षेत्र’ मानिएको गौशाला नगर क्षेत्रमा उपज भण्डारण र संकलन तथा बिक्री केन्द्र नहुँदा टिपेर साप्ताहिक हटिया (विभिन्न बार पारेर ठाउँठाउँमा लाग्ने साप्ताहिक हटिया) पुर्याएपछि कौडीकै दाममा बेचेर फर्कनुपर्ने अवस्था केन्द्र निर्माणले अन्त्य हुने किसानको विश्वास छ।
किसानले व्यहोरिरहेका समस्यालाई मध्यनजर गरेर नै गौशाला– ५ बजारछेउमै मडहा नदीको किनारको नदीउकास पर्ती जग्गामा कृषि उपज केन्द्रको अत्याधुनिक भवन निर्माण सुरु गरिएको गौशालाका नगरप्रमुख डा. दीपेन्द्र महतोले जानकारी दिए।
‘नेपाल सरकारबाट केन्द्र निर्माणका लागि रकम प्राप्त भएको छ, ठेक्का बन्दोबस्तबाट निर्माण कार्य थालिएको छ,’ नगरप्रमुख डा. महतोले भने, ‘अबको करिब एक वर्षभित्रै कृषि उपज केन्द्रको अत्याधुनिक भवन निर्माण सम्पन्न भइसक्नेछ।’
केन्द्र निर्माणका लागि नेपाल सरकारले सात करोड ८१ लाख ३४ हजार तीन सय ७६ को ठेक्का बन्दोबस्त गरेको नगरप्रमुख डा। महतोले स्पष्ट पारे। केन्द्र निर्माणका लागि ठेक्का पाएको काठमाडौंस्थित सान्दोर्जे निर्माण सेवाले कार्यादेशमा तोकिएको समय सीमाभित्रै निर्माणकार्य सम्पन्न गरिने प्रतिबद्धता जनाएको छ।
केन्द्र निर्माण भएपछि किसानले उत्पादित फसल यहाँ ल्याएर बेच्ने र केही दिनका लागि भण्डारण गर्न सक्नेछन्। कृषि उपजको व्यापार गर्नेलाईसमेत केन्द्र निर्माणले सहज बनाउने नगरप्रमुख महतोको भनाइ छ। केन्द्र सञ्चालनमा आएपछि दैनिक २४ सै घन्टा ताजा तरकारीको बजार रहने डा. महतोले बताए।
जम्मा १२ वडाको नगर क्षेत्रका करिब ५० भन्दा बढी बस्ती विभिन्न मौसमी बेमौसमी तरकारी उत्पादनका लागि उर्वरक्षेत्र मानिन्छन्। त्यसैगरी आँप र लिचीसहितका फलफूलको पनि गौशाला नगर क्षेत्र पकेट क्षेत्र रहँदै आएको छ।
केन्द्र निर्माणले सबै फसलको बजार सहजीकरण गरे पनि तरकारी र फलफूल किसान बढी लाभान्वित हुने कृषि ज्ञानकेन्द्र जलेश्वरका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा. रामचन्द्र यादव बताए।
Comment