लुम्बिनी । भारतको प्रसिद्ध पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपाल भारतीय पर्यटकको एउटा सहज गन्तव्य भएको बताएका छन् । विहीबार बिहान पाल्पाको बसन्तपुरस्थित कामाख्यादेवी मन्दिरको दर्शन गर्न पुगेका उनले भने “नेपालका कुनै पनि पर्यटकीय स्थानमा भारतीय नागरिकलाई सहज पहुँच छ, दुई देशको धार्मिक, सांस्कृतिक समानताका कारण पनि नेपालका धार्मिक गन्तव्यहरुप्रति भारतीयको आस्था र आकर्षण दुवै छ ।”
रुपन्देहीको बुटवल र पाल्पाको बसन्तपुर जोड्ने लुम्बिनी केबलकारमार्फत् आज बिहान बसन्तपुर पुगेका उनले त्यहाँस्थित कामाख्या भगवतीको पूजाअर्चना गरेका थिए । पूजाआजापछि नेपाल र भारतका पत्रकारसँगको अन्तरक्रियामा उनले प्राकृतिक सुन्दरता, आवतजावतको सहजता, भाषिक, धार्मिक, सांस्कृतिक समानताले भारतीय पर्यटकका लागि नेपाल सहज र उत्कृष्ट गन्तव्य रहेको बताए ।
उनले नेपाल गौतमबुद्ध, पशुपतिनाथ, मुक्तिनाथ, जानकी, वाल्मिकी ऋषिलगायतको पावन भूमिरहेको भन्दै नेपालमा धार्मिक, सांस्कृतिक तथा मनोरम प्रकृतिका क्षेत्रमा रहेको अद्वितीय पर्यटनको सम्भावनालाई केन्द्रमा राखेर भारतीय पर्यटकलाई यहाँ ल्याउने गरी नेपाल सरकारले कार्यक्रम बनाउनुपर्ने सुझाव दिए ।
उनले धार्मिक पर्यटकीयस्थललाई प्रवद्र्धन गर्न भारत सरकारले अघि सारेको रामायण र शिव सर्किटमा नेपाललाई जोडेर नेपालमा पनि धार्मिक पर्यटकीय सर्किट बनाइ दुवै देशको धार्मिक पर्यटन प्रवद्र्धनको पहल गर्न सुझाव दिए ।
उनले लुम्बिनी केबलकार नेपालीका लागि मात्र नभइ भारतीय पर्यटकका लागि पनि एक प्रमुख आकर्षक गन्तव्य बन्ने बताउँदै भारतको उत्तर प्रदेशको लुम्बिनी प्रदेशका तराईका जिल्लासँग सीमा जोडिएकाले त्यहाँका नागरिकका लागि लुम्बिनी क्षेत्रमा अवस्थित यो पर्यटकीय पूर्वाधार भारतीय नागरिकको पनि एक महत्वपूर्ण गन्तव्य बन्ने उनको धारणा थियो ।
केबलकारको टप स्टेशन बसन्तपुरमा निर्माण गरिएको कामाख्या भगवती मन्दिर, यहाँको प्राकृतिक सौन्दर्य तथा तराईको गर्मीमा पनि बसन्तपुरमा पाइने शीतल वातावरण भारतीय पर्यटकको प्रमुख आकर्षण रहेका उनको भनाइ थियो ।
आयुर्वेद शिरोमणी आचार्यले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनसके पर्यटक आगमन बढ्न सक्ने बताए । भारतको पतञ्जली योगपीठले नेपालमा औषधि उद्योग स्थापना र योग केन्द्र सञ्चालन गरेर दुई देशबीच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाएको र यसले धार्मिक पर्यटन प्रवद्र्धन गरेको उनको भनाइ छ ।
उनले ४० वर्षपछि पहिलो पटक गृहजिल्ला स्याङजामा दशैँ पर्व मनाउन अवसर मिलेको बताउँदै दशैँ या अरु चाडपर्वका अवसरमा आफन्त परिवार समक्ष पुग्ने परम्परा सनातन संस्कृति र वैदिक परम्पराको राम्रो संस्कार रहेको बताए ।
उनले नवरात्रमा देवस्थानहरुमा चढाइने पशुबलि जस्ता हाम्रा सदियौँदेखिका परम्परागत, संस्कृतिलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्ने पनि बताए । “हाम्रा पूर्वजले परम्परा शुरू गरे होलान्, त्यतिबेलाको अवस्थामा पक्कै पनि ती संस्कारको आफ्नै महत्व थियो होला”, उनले भने,“आज समय परिवर्तन भएको छ, त्यही हिसाबले संस्कारलाई पनि परिस्कृत गर्नु आवश्यक छ ।” उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौँदेखि धार्मिक, सांस्कृतिक समानतासहित प्रगाढ रहिआएकाले यसलाई कसैले तोड्न नसक्ने बताए ।
सो अवसरमा लुम्बिनी केबलकारका निर्देशक रुद्र पौडेलले नेपालीसँगै भारतका नागरिकलाई लक्षित गरेर बसन्तपुरमा पाँचतारे होटेल निर्माणाधीन रहेको जानकारी दिए । सो होटलसहित केबलकारमा रु पाँच अर्ब लगानी हुने जानकारी पनि उनले दिए ।
Comment