बीमा ऐन विपरित काम गरेको भन्दै सेबोन र बिमा प्राधिकरणका अध्यक्ष विरुद्ध अख्तियारमा मुद्दा दर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बीमा ऐन विपरित काम गरेको भन्दै सेबोन र बिमा प्राधिकरणका अध्यक्ष विरुद्ध अख्तियारमा मुद्दा दर्ता



काठमाडौं । अगुवा सेयर लगनीकर्ताहरुको समूहले शुक्रबार बिहान नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले नियमविपरीत बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्कासनको स्वीकृति दिएको भन्दै कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी दर्ता गराएका छन् । उनीहरुले ‘बीमा ऐन, २०७९’ को व्यवस्था विपरीत बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्कासनको स्वीकृति दिएको भन्दै उजुरी दर्ता गराएका हुन् ।

लगानीकर्ताहरुले दर्ता गराएको लिखित उजुरीमा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल,कार्यकारी निर्देशक राजुरमण पौडेल विरुद्ध बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको भन्दै छानविन गर्न र यसमा संलग्नहरुलाई कार्वाही गर्न माग गरिएको छ।

सामुहिक रुपमा भेला भएका लगानीकर्ताहरु मध्ये अगुवा लगानीकर्ता, केशव कोइराला९काका०, तिलक कोइराला र अमिर तिमलसिनाको टोलीलाई उजुरी दर्ता गर्नका लागि अख्तियारले कार्यालयभित्र प्रवेश गर्न अनुमति दिएको थियो ।

प्राधिकरणको यो गैरकानूनी कामलाई नेपाल धितोपत्र बोर्डले समेत नजरअन्दाज गर्दै धमाधम बीमा कम्पनीहरुलाई आईपीओ निष्कासनको अनुमति दिएको आरोप भेलामा सहभागी लगानीकर्ताहरुले लगाएका छन् ।

प्रिमियममा आईपीओ बिक्री गरेका ती बीमा कम्पनीहरुले प्रिमियममा उठाएको पैसा लगानीकर्ताहरुलाई फिर्ता गर्नुपर्ने माग पनि लगानीकर्ताहरुको छ ।

धितोपत्र बोर्डको पाइपलाइनमा रहेको हिमालयन रि–इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ गर्न माग गरेको छ। तर, लगानीकर्ताहरुले हिमालयन रिइन्स्योरेन्सलाई बीमा ऐनविपरीत प्रिमियममा आईपीओ निष्कासन गर्न दिन नहुने माग गरेका छन् ।

प्रकाशित : २६ आश्विन २०८०, शुक्रबार १६:०७