लेखा सुपरीवेक्षण समितिको गोष्ठी सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लेखा सुपरीवेक्षण समितिको गोष्ठी सुरु




काठमाडौ । “दिगो, पारदर्शी र जोखिमरहित सहकारी लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी” भन्ने थिमसहित लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० आजबाट सुरु भएको छ । गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वबाट विभिन्न ८ वटा विषयमा कार्यपत्र प्रस्तुत हुने आयोकले बैंकले जनाएको छ ।
गोष्ठीको पहिलो दिनमा नेपालको सहकारीमा लेखा सुपरीवेक्षण समितिको अभ्यासः व्यवस्था र अवस्था विषयमा राष्ट्रिय सहकारी बैंकका लेखा समिति सदस्य केशवप्रसाद सापकोटाले प्रस्तुत गर्नेछन् । त्यस्तै वित्तीय सहकारीको जोखिम मापनः संरचना र पद्धति विषयक कार्यपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले प्रस्तुत गर्नेछन् । तेस्रो सत्रमा सहकारीको वित्तीय जोखिमः मापन र व्यवस्थापन रणनीति विषयमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत डा. नवराज सिंखडाले प्रस्तुत गर्नेछन् । पहिलो दिनको अन्तिम सत्रमा सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा सञ्चालन एवं अनुपालना जोखिमः मापन र व्यवस्थापन रणनीति विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।
त्यस्तै दोस्रो दिनको पहिलो सत्रमा सहकारीको आन्तरिक नियन्त्रण प्रणालीः विकास र अभ्यास विषयमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्ता मणी शिवाकोटीले प्रस्तुत गर्नेछन् । दोस्रो सत्रमा राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले सहकारीको सुशासन र स्वनियमनः प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली विषयमा कार्यपत्र प्रस्तुत गर्नेछिन् भने सहकारीको आन्तरिक नियन्त्रण प्रणालीः विधि प्रविधि र औजार विषयमा एशियाली ऋण महासंघका प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीले प्रस्तुत गर्नेछन् ।
त्यस्तै गोष्ठीको अन्तिम कार्यपत्र सहकारी व्यवस्थापन समितिको कार्यालयका प्रमुख काशीराज दाहालले प्रस्तुत गर्नेछन् । उनले सहकारीको विद्यमान संकट सामनाः रणनीति र भावी कार्यदिशा विषयमा आफ्नो प्रस्तुती दिने कार्यक्रम तय भएको आयोजक बैंकले जनाएको छ ।
काठमाडौंको याक एण्ड यति होटलमा सुरु भएको गोष्ठीमा देशभरबाट ५ सयजना सहभागिता रहको बैंकले जनाएको छ । लेखा सुपरीवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाई सहकारीमा सुशासन एवं आन्तरिक नियन्त्रण पद्धति स्थापनामार्फत दिगो सहकारीको निर्माणमा योगदान पुग्ने गोष्ठीको मुख्य उद्देश्य रहेको बैंकका अध्यक्ष के.बी. उप्रेतीले जनाकारी दिए ।

प्रकाशित : २५ आश्विन २०८०, बिहीबार ११:४२