सर्प पाल्ने कार्यक्रममा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सर्प पाल्ने कार्यक्रममा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार



काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मधेस प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

सर्लाहीको लालबन्दी रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमा संघीय सरकारबाट समपूरक अनुदानका रुपमा प्राप्त रकमसहित बजेट विनियोजन गरिएको थियो ।

भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार, सचिव प्रेम कुमार श्रेष्ठ र लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मान बहादुर खड्कासमेतसहित जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको हो ।

सर्लाहीको लालबन्दी नगरपालिकामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालको सहकार्यमा ‘एन्टिभेनम प्रोडक्सन एण्ड रिसर्च सेन्टर नेपाल (एपीआरसीएन) स्थापना तथा सञ्चालन गर्ने कार्यमा अनियमितता भएको भन्ने उजुरीको छानविन गर्र्दै जाँदा तत्कालीन प्रदेश २ (हालको मधेश प्रदेश)का तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार र लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मान बहादुर खड्काले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा समावेश कार्यक्रममा भ्रष्टाचार गरेको खुल्न आएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

विशेष अदालत, काठमाडौंमा आइतबार दायर मुद्दामा उनीहरुबाट १७ करोड ९८ लाख ३३ हजार असुल उपर गर्न र भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवानाको माग समेत गरिएको छ । यादव तत्कालीन मन्त्री भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ अनुसार थप कैद सजाय समेत मागदाबी गरिएको छ ।

प्रकाशित : २१ आश्विन २०८०, आईतवार १४:२९