सहकारी मार्फत दूध बेचेर किसानले कमाए दुई करोड आम्दानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी मार्फत दूध बेचेर किसानले कमाए दुई करोड आम्दानी



चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका कृषकले दूध बेचेर एकै आर्थिक वर्षमा दुई करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । गाउँमै सञ्चालन गरेको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बेचेर ती कृषकले उक्त आम्दानी गरेका हुन् ।

कृषक डिल्लीराम नेपाल एक वर्षमा १३ हजार नौ सय ७९ लिटर दूध बेचेर आठ लाख २३ हजार छ सय रुपैयाँ आम्दानी गरेको बताउँछन् । चार वटा गाई पालेका उनी दैनिक ३० देखि ३५ लिटरसम्म दूध बेच्ने गर्छन् । नेपाल संस्थाका सदस्यमध्ये सबैभन्दा बढी दूध बेच्ने कृषक हुन् ।

अर्का कृषक ताराप्रसाद नेपालले पनि ११ हजार चार सय ५४ लिटर दूध बेचेर छ लाख ८२ हजार एक सय ९९ रुपैयाँ आम्दानी गरेका छन् । त्यसैगरी तोयानाथ नेपालले ११ हजार लिटर दूध बेचेर छ लाख ३३ हजार तीन सय रुपैयाँ र रवीन्द्र नेपालले तीन हजार तीन सय २४ लिटर दूध बेचेर छ लाख २१ हजार दुई सय रुपैयाँ कमाउन सफल भएका छन् ।

मिहेनत गर्ने हो भने घरमै बसेर मनग्य आम्दानी गर्न सकिने उदाहरण बित्तजेलका कृषकले देखाएका छन् । घरमै बसेर खेतीपती र वस्तुभाउ दुवै पेसालाईसँगै लगेर लखपति बन्न सकेकोमा कृषक तोयानाथ खुसी छन् । उनीजस्तै दुई सय ८० कृषकले नियमितरुपमा दूध बेच्दै आइरहेका छन् । उक्त संस्थाले गत आवमा मात्रै चार लाख ७७ हजार सात सय ७९ लिटर दूध सङ्कलन तथा बिक्री गरेको व्यवस्थापक द्वारीका नेपाल जानकारी दिन्छन् । दूध बिक्रीबाट मात्रै संस्थाले एक वर्षमा दुई करोड एक लाख दस हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त संस्थाले एक वर्षमा सात करोड ५१ लाख २८ हजार पाँच सय २२ रुपैयाँको कारोबार गर्नाका साथै दूध बिक्री, ढुटो पिना खरिद तथा बिक्री र रासायनिक मल खरिद तथा बिक्रीको कारोबार पनि गर्दै आएको छ ।

संस्थाको शेयर सदस्य भने चार सय ३६ छन् । सबै सदस्य बचत कार्यक्रममा नियमित सहभागी रहँदै आएको संस्थाका सचिव मायानाथ नेपाल बताउँछन् ।

प्रकाशित : १९ आश्विन २०८०, शुक्रबार १४:२४