माछापुच्छ्रे बैंकको पच्चीसौँ वार्षिक साधारणसभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माछापुच्छ्रे बैंकको पच्चीसौँ वार्षिक साधारणसभा सम्पन्न



पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको पच्चीसौँ वार्षिक साधारण सभा आज (बिहीबार) होटल पोखरा ग्राण्ड पोखरामा सम्पन्न भएको छ । साधारण सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ को लागि जीपीराजबहाक एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्ति गर्ने निर्णय गरेको छ । 

बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयरधनीहरूलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशत बराबर  १ अर्ब ३६ करोड ४२ लाख एक हजार ६९२ रुपैयाँ बोनस शेयर र चुक्ता पूँजीको ०.७० प्रतिशत हुन आउने ७ करोड १८ लाख ८९ रुपैयाँ नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा १४ प्रतिशत लाभांश वितरण  गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै साधारणसभाले माछापुच्छ्रे बैंक लि. र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ । 

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो । हाल बैंकको चुक्ता पूँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ संचित रहेको छ । 

साधारण सभामा बोल्दै बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले देशको आर्थिक स्थितिलाई मजबुत बनाउन बैंकको तर्फबाट यथासक्य योगदान पुर्‍याउने उद्धेश्यका साथ सन्तुलित रुपमा निक्षेप तथा कर्जा लगानीलाई वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरूमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राख्दै शेयरधनीहरूलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सदैव लागि परेको जानकारी गराए ।

डा.महतोले नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीति अनुरुप बैंकले मर्जरको लागि प्रयत्न गरिरहेको जानकारी गराउँदै बैंक सँधैं अर्थपूर्ण मर्जरका लागि सकारात्मक रही सोही बमोजिम छलफलहरू समेत गर्दै आइरहेको उल्लेख गरे ।

कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरू मुकुन्द महत र जयमुकुन्द खनालले आ–आफ्नो मन्तव्य राख्दै बैंकले आफ्नो आन्तरिक तथा बाह्य लेखापरिक्षण कार्यलाई नियमित बनाई बैंकको वित्तीय अवस्थालाई थप पारदर्शी बनाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यहरूलाई निरन्तरता दिने कार्यमा संचालक समितिको साथ रहिरहने कुरामा विश्वास का साथ प्रतिबद्धता समेत व्यक्त गरे । साथै बैंकलाई आजको स्थानमा ल्याई पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण निकायहरू, ग्राहक महानुभावक एंव शुभचिन्तकहरूलाई हृदय देखि नै धन्यवाद ज्ञापन गरे ।

साधारण सभामा संस्थापक एवम्‌ साधारण शेयरधनीहरूको उल्लेख्य सहभागिता रहेको थियो । बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०२ वटा एटीएम मार्फत १५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।

प्रकाशित : १८ आश्विन २०८०, बिहीबार १९:११