नेपालको अर्थतन्त्र ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण, आगामी वर्षमा ५ प्रतिशत पुग्ने अनुमान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालको अर्थतन्त्र ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण, आगामी वर्षमा ५ प्रतिशत पुग्ने अनुमान



काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकले प्रक्षेपण गरेको छ । बैंकका अनुसार आयात प्रतिबन्धहरु हट्नु, पर्यटन क्षेत्रको बलियो पुर्नरुत्थान र मौद्रिक नीति क्रमिकरुपमा खुकुलो हुँदै गएकाले नेपालको अर्थतन्त्रमा सुधार हुने अनुमान गरिएको हो ।

सरकारले बजेटमार्फत भने चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशतमात्रै भएको थियो।

विश्व बैंकले आज सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनमा आगामी आर्थिक वर्षमा भने अर्थतन्त्रले थप गति लिने प्रक्षेपण गरेको छ । साथै, आगामी आर्थिक वर्षका लागि ५ प्रतिशतको आर्थिक वृद्धिदर प्रक्षेपण गरिएको हो । यद्दपि, नेपालको आर्थिक परिदृश्यमा धेरै जोखिमहरु पनि समावेश रहेको विश्व बैंकले उल्लेख गरेको छ ।

चालु आर्थिक वर्षमा कृषि तथा उद्योग क्षेत्रको वृद्धि सामान्य मात्रै भए पनि सेवा क्षेत्रको वृद्धि सन्तोषजनक हुने प्रक्षेपण छ । कृषि क्षेत्रको वृद्धि २.१ प्रतिशत र उद्योगको वृद्धिदर ३.२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । त्यस्तै, सेवा क्षेत्रको वृद्धि दर ५.१ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकको छ ।

नेपालमा लम्पी स्किन महामारीले पारेको प्रभावलाई ध्यान दिएर आर्थिक वृद्धिको प्रक्षेपण सार्वजनिक गरिएको विश्व बैंकले जनाएको छ ।

तर, नेपालमा मनसुनका कारणका कृषि उत्पादन घट्नसक्ने, वस्तुको मूल्यवृद्धि उच्च हुनसक्ने तथा भारतले केही सामानमा निर्यात प्रतिबन्ध गरेकाले त्यसको असर आर्थिक वृद्धिमा देखिन सक्ने जोखिम पनि विश्व बैंकले औंल्याएको छ ।

प्रकाशित : १६ आश्विन २०८०, मंगलवार १४:५१