राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार प्रकरणः पौडेललाई मुद्दा पर्दा आरजुको योजनामा तुसारापात ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार प्रकरणः पौडेललाई मुद्दा पर्दा आरजुको योजनामा तुसारापात !



काठमाडाैं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचारको आरोपमा वाणिज्य सचिव मधु मरासिनीसहित सात जना विरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव मरासिनीसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका अध्यक्ष र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल विरुद्ध नेशनल पेमेन्ट गेटवे प्रकरणमा सोमबार विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो।

सोमबार विशेष अदालतमा अभियोगपत्र दायर गर्दै ६ वर्षअघि खरिद गरेको नेशनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा नल्याएको, आवश्यक पूर्वधार नै तयार नगरी अस्वभाविक लागत तयार गरी स्वीकृत गराएर राज्यलाई २५ करोड नोक्सानी पुर्याएको आरोप छ ।

तत्कालिन राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक पदमा रही काम गर्दा ’नेशनल पेमेण्ट गेट–वे’ प्रकरणमा पाैडेल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल हाल नेपाल टेलिकमका प्रबन्ध निर्देशक छन्। भ्रष्टचारको मुद्दा लागेसँगै सुनिल पौडेलको प्रबन्ध निर्देशककाे पद के हुने भन्ने प्रश्न संगै कांग्रेश नेतृत्वमा नयाँ तरङ्ग पैदा भएको छ ।

२०७८ चैत २४ गते काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व सरकारका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उनलाई नियुक्त गरेका थिए । स्रोतका अनुसार पौडेलको प्रबन्ध निर्देशकको रुपमा नियुक्त गर्न तत्कालिन सञ्चार मन्त्री कार्कीलाई देउवा पत्नी आरजु राणाको ठूलो दबाब थियो । आरजुकै दबाबमा पाैडेललाई नियुक्त गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति सम्बन्धी निर्देशिका नै संशोधन गरेको थियो ।

उच्च पदस्थसँग राम्रो सम्बन्ध भएका पौडेल राजनीतिक नेतृत्वलाई रिझाउन सक्ने व्यक्ति हुन । विवादास्पद छबिका पौडेल विभिन्न सूचना प्रविधिसम्बद्ध आयोजनाहरुमा एजेन्टमा रुपमा काम गर्दै आएका थिए । सुनिल पौडेल तत्कालिन सञ्चार मन्त्री गोकुल बाँस्कोटा र सेक्युरिटी प्रिन्टिङ प्रेसको अनियमितता प्रकरणमा मुछिएका सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक बिकल पौडेल निकट पनि मानिन्छन ।

१९ वर्षअघि काठमाडौं इन्जिनियरिङ कलेजबाट कम्प्युटर इन्जिनियरिङ पूरा गरेका पौडेलले सन् २००८ मा दक्षिण कोरियाबाट ग्लोबल आईटी टेक्नोलोजी प्रोग्राममा एमएससी पास गरेका थिए । त्यस अघि नै सन् २००४ मा उनले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कम्प्युटर इन्जिनियरको रुपमा प्रवेश गरेका थिए ।

नेपाल टेलिकममा ठूलो रकम मुद्धति निक्षेप (लामो अवधिका लागि धेरै ब्याजआउने गरी बैंकमा गरिने बचत)मा रहेकाले आरजु राणा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सञ्चार सचिव बैकुण्ठ अर्यालसँगको मिलेमतोमा नयाँ परियोजनाहरु बनाएर खर्च गर्ने योजनासहित पौडेललाई टेलिकममा ल्याइएको स्रोतको दावी छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषको रकम विभिन्न परियोजना दिलाएर टेलिकममार्फत खर्च गर्ने योजना बनेको सञ्चार मन्त्रालयका एक अधिकारीले बताए । विवादास्पद पृष्ठभूमिका पौडेललाई टेलिकममा ल्याउन विभिन्न स्वार्थ समूह सक्रिय रहेको उनको दावी छ ।

प्रकाशित : १५ आश्विन २०८०, सोमबार १८:३७