कर्जा माग नहुँदा बैंकमा थुप्रियो पैसा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कर्जा माग नहुँदा बैंकमा थुप्रियो पैसा



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (अधिक तरलता) निरन्तर बढ्दो छ । नयाँ कर्जा माग नभएको, रेमिट्यान्स वृद्धिलगायत कारण वित्तीय प्रणालीमा लगानीयोग्य रकम बढिरहेको हो । बैंकिङ प्रणालीमा कर्जाको माग चाहेजस्तो नहुँदा बैंकहरु अधिक तरलताका अवस्थामा पुगेका छन् । त्यसले गर्दा बैंकहरुको अन्तर बैंक ब्याजदर घट्दै गएको छ । चालु आर्थिक बर्ष लागेदेखि हालसम्ममा अन्तर बैङ्क ब्याजदर ३.३७ प्रतिशतले घटेर असोज ९ मा बैंकिङ प्रणालीको औसत अन्तर बैंक ब्याजदर २.५४ प्रतिशत कायम भएको राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्ली राम पोख्रेलले बताए । गत साउनमा यस्तो व्याजदर ५.९१ प्रतिशतको विन्दुमा थियो ।

नेपाल राष्ट्र बैंकको असोज ९ गतेको तथ्याङ्कयअनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५६ खर्ब ४२ अर्ब ३५ करोड पुग्दा कर्जा लगानी ४८ खर्ब ८३ अर्ब ४२ करोड पुगेको छ । चालु आर्थिक वर्ष लागे यता निक्षेपको तुलनामा कर्जामा वृद्धि उच्च भएतापनि असोजमा बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था आएको देखिन्छ । २०८० साउन मसान्तमा ५५ खर्ब ७६ अर्ब ८ करोड रहेको बैंकहरुको कुल निक्षेप असोज ९ गतेसम्म आउँदा ६६ अर्ब २७ कराडले वृद्धि भएर ५६ खर्ब ४२ अर्ब ३५ करोड पुगेको हो ।

सोही अवधिमा कर्जा लगानी भने ९० अर्ब ७२ करोडले वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क५ले देखाउँछ । चालु आर्थिक बर्षको सुरुको महिनाको मसान्तमा ४७ खर्ब ९२ अर्ब ५ करोड रहेको कुल कर्जा लगानी असोज ९ गते सम्म्म आइपुग्दा ४८ खर्ब ८३ अर्ब ४२ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । निक्षेपको तुलनामा कर्जा लगानी बढी हुँदा पनि बैंकिङ प्रणालीमा तरलता सहज देखिएको छ ।

कर्जा बढेको अवस्थामा तरलताको श्रोतहरुबाट आउँने रकम अलि बढी भयो भने यस्तो अवस्था आउने राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागका कार्यकारी निर्देशक पिताम्बर भण्डारीले बताए । उनले भने, ‘अर्को भनेको पहिला लोकल लेबलको छुट्टै हेर्ने गरिन्थ्यो अहिले पछिल्ला समय लोकल लेबलको स्थानिय सरकारको निक्षेप पनि करिब ६५ अर्ब केन्द्रमा नै आयो, रेमिट्यान्स प्रवाह बढिरहेको छ । जसले गर्दा आयातमा कमी नै भइरहेको छ ।

अहिलेको अवस्थामा भुक्तानी सन्तुलन पनि सकारात्मक रुपमा गइरहेको छ । जसले गर्दा तरलतामा सहजता भएको उनले बताए । उनले भने, ‘यसमा कर्जा प्रवाहबाट बढ्ने र घट्ने भनेको दुई किसिमका हुन्छन् । आयातको लागि कर्जा प्रवाह भयो सामानहरु बढीमात्रामा आए भने कर्जा प्रवाह भएपनि तरलता घट्छ । तर, कर्जा प्रवाह आन्तरिक गतिविधिका लागि भयो भने तरलता त्यो अनुपातमा घट्दैन् । किनकी त्यो पैसा देशभित्रै घुमिरहन्छ । बाहिर आयातमा गयो भने फेरी तरलतामा कमी आउछ ।‘

चालु आर्थिक बर्ष लागेयता कर्जाको तुलनामा निक्षेप घटेको छ । जुन केहि समय अगाडी सरकारले बाणिज्य बैंकहरुको निक्षेप गणना गर्न दिएको थियो । जसका कारण केहि घटेको भण्डारीले बताए । आगामी साताबाट बढ्न सक्ने उनको अनुमान छ । उनले भने, ‘असारसम्म निक्षेपमा गणना गर्न पाएका थिए तर साउन लागेपछि गणना गर्न पाएन् करिब ८५ अर्बको फरक पर्यो ।‘

यसका साथै, बर्षको अन्त्यमा केहिमात्रामा निक्षेप यसैपनि घटेको देखिने उनले बताए । यी बाहेक तरलता बढ्ने भनेको निक्षेपमार्फत भएकाले निक्षेप घट्नुपर्ने कुनै ठोस कारण नभएको उनको भनाई छ ।

असोज ९ गतेको तथ्याङ्काअनुसार बैंकिङ प्रणालीको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८२.५३ प्रतिशत रहेको छ। यस अवधिमा भारित औसत अन्तरबैंक ब्याजदर उच्च प्रतिशतले घटेको छ । चालु आर्थिक बर्षको सुरुको महिनाको मसान्तमा ५.९१ प्रतिशत रकेको बैंकिङ प्रणालीको अन्तरबैंक ब्याजदर असोज ९ गतेसम्म आइपुग्दा ५७.०२ प्रतिशतले घटेर २.५४ प्रतिशत कायम भएको छ ।

प्रकाशित : ११ आश्विन २०८०, बिहीबार १४:४१