आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक विदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक विदा



काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहीबार सार्वजनिक विदा हुने भएको छ । आज सरकारले इन्द्रजात्राको अवसरमा असोज ११ गते, बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । नेवार समुदायले मनाउने इन्द्रजात्राका लागि आज सार्वजनिक विदा दिइएको हो । आज बैंक वित्तीय संस्था बीमा कम्पनीको साथै शेयर बजार समेत बन्द हुनेछ ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्राउन पनि साइत हेरिन्छ । उपत्यका भित्राएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।

प्रकाशित : ११ आश्विन २०८०, बिहीबार ०७:२०