दशैंका लागि सर्वसाधारणले साढे १८ हजार नयाँ नोट साट्न पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दशैंका लागि सर्वसाधारणले साढे १८ हजार नयाँ नोट साट्न पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपटकको दशैंमा नयाँ नोटको छपाइ संख्या घटाउने भएको छ । अघिल्ला वर्षहरुमा जस्तो नयाँ नोटको संख्या बजारमा धेरै नपठाउने तयारी राष्ट्र बैंकले गरिरहेको बताइएको छ । राष्ट्र बैंकको प्राथमिकता नगद कारोबार घटाउँदै वित्तीय क्षेत्रमा डिजिटल कारोबार बढाउने भएकाले यसपटक बजारमा नयाँ नोटको संख्या कम पठाउने तयारी गरेको हो ।

पछिल्लो समय डिजिटल कारोबार बढेसँगै नयाँ नोटको सख्या पनि बजारमा कम पठाउने तयारी रहेको राष्ट्र बैंकका सहप्रवक्ता डाडिल्लीराम पोखरेलले बताए । हालसम्म दशैंका लागि नयाँ नोटको संख्या बजारमा कति पठाउने र कहिलेदेखि वितरण गर्ने भनेर निर्णय नभएको उनको भनाइ छ ।

गत वर्ष दशैं, तिहार लगायतका चाडपर्वमा झण्डै ५६ अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही भएको थियो । तर, यसपटक भने सो आकारमा नयाँ नोट बजारमा नपठाउने उनले बताए । उनका अनुसार नयाँ नोटको संख्या बजारमा कम पठाएपनि प्रतिव्यक्ति भने साढे १८ हजार रुपैयाँ नै दिने तयारी रहेको छ ।

राष्ट्र बैंकका दुर्गम ठाउँ लगायतका स्थानमा रहेका नोट कोषमा नयाँ नोटको संख्या कति रहेको छ भनेर तथ्याङ्क निकाल्ने काम भइरहेको उनले बताए । सो तथ्याङ्क आइसकेपछि मात्रै राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट बजारमा पठाउने निर्णय गर्ने उनको भनाइ छ ।

‘नोट कोषमा नयाँ नोटको संख्या कति रहेको छ भनेर तथ्याङ्क निकाल्ने काम भइरहेको छ, त्यसमा नयाँ नोट कति छन् भनेर भेरिफाइड भइरहेको छ, कति नयाँ नोट चाहिने हो भनेर नोट व्यवस्थापन विभागले निर्णय गर्छ, त्यसपछि नयाँ नोटका लागि सूचना आह्वान गर्छौै,’ उनले भने ।

यसपटकको दशैंमा पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ नै बाँड्ने तयारी रहेको उनले बताए । डिजिटल कारोबार बढिसकेको हुँदा कूल रकम घट्न सक्ने उनको भनाइ छ ।

राष्ट्र बैंकले यसपटक पनि प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका नयाँ नोट उपलब्ध गराउने छ । गत वर्ष दशैं छिटै परेको हुँदा भदौ २९ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरूले नयाँ नोट सटही सुविधा प्रदान गरेका थिए ।

प्रकाशित : ९ आश्विन २०८०, मंगलवार १२:५६