सहकारी मार्फत दूध बेचेर करोडौँ गाउँ भित्र्याउँदै बागलुङका किसान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सहकारी मार्फत दूध बेचेर करोडौँ गाउँ भित्र्याउँदै बागलुङका किसान



बलेवा । जिल्लाका किसानले दूध बिक्री गरेर हरेक वर्ष करोडौँ रुपैयाँ गाउँ भित्र्याउने गरेका छन् । जिल्लाको काठेखोला गाउँपालिका, जैमिनी र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेर करोडौँ रुपैयाँ गाउँ भित्र्याएका हुन् ।

जैमिनीका किसानले सहकारीमार्फत पर्वत र कास्कीको पोखरामा दूध निर्यात गर्छन् । काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका किसानले बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत बजारमा दूध पुर्याउने गरेका छन् । सङ्घबाट यहाँका किसानले एक वर्षमै रु सात करोड ३४ हजार १९ गाउँमा भित्र्याउन सफल भएका हुन् ।

उत्पादित दूध सहकारीमार्फत प्रशोधनसहित बजारीकरण गरी यहाँका कृषकले आम्दानी गरेका हुन् । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका १४ दुग्ध सहकारीमा आबद्ध किसानले आर्थिक वर्ष २०७९÷८० मा सहकारीमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण गरेर सहरको पैसा गाउँमा पुर्याएका हुन् ।

दूध उत्पादन गर्न सके बजारीकरणको जिम्मा सहकारीले लिने भएकाले आफूजस्ता किसानलाई सहज भएको काठेखोला–८ मा रहेको गाजा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष मीनप्रसाद कँडेलले बताए । काठेखोला–६ स्थित नमूना दुग्ध उत्पादक सहकारी संस्थाका सेयर सदस्यले मात्रै दैनिक तीन सय लिटर दूध सहकारी सङ्घलाई बजारमा पठाउने गरेको किसान बताउँछन् ।

“यो वर्ष हामीले राम्रो दूध उत्पादन गरेका थियौँ, किसानको मेहनत हेरेर राज्यका निकायले पनि सहयोग गर्न जरुरी छ”,उनले भने , “पशुधनबाट हुने आम्दानीले किसानले जिविका चलाउन सक्ने बनाउनुपर्छ ।” चौधवटा सहकारीका सेयर सदस्य रहेका किसानले गाउँ–गाउँमा सङ्कलन गरेको दूध एकमुष्ट बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घलाई उपलब्ध गराउने गरेका छन् ।

बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले एक आर्थिक वर्षमा मात्रै १४ सहकारीका सेयर सदस्य किसानबाट रु नौ करोड बढीको दूध खरिद गरेर बिक्री गरेको सहकारीका अध्यक्ष दीपक गौतमले बताए । “हामीले सहकारीमा आबद्ध किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित गरेका छौँ”, उनले भने , “पशु बीमा, औषधिलगायतका कार्यक्रम सञ्चालन गरेर किसानलाई सङ्घले विभिन्न तरिकाबाट सहयोग गरिरहेको छ ।”

उनका अनुसार थोरै दूध उत्पादन गर्ने किसानले बजार टाढा भएकाले समस्यामा पर्ने भए पनि थोरै दूध सहकारीमा जम्मा गरेर सहकारीमार्फत एकमुष्ट बागलुङ बजारमा ल्याउँदा बजारीकरणमा सहज हुने गरेको छ । विसं २०५७ मा स्थापना गर्दा दूध सङ्कलन गरी ल्याउने र बिक्री नभएर नालीमा फाल्ने सहकारी अहिले दूधको ब्रान्ड नै बनेको छ ।

सङ्घले स्थापना गरेको दुग्ध उद्योगबाट छुर्पीलगायतका उत्पादन विदेश निर्यातसमेत हुने गरेका छन् । सङ्घमा मात्रै १५ कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । सङ्घमा आबद्ध १४ वटा सहकारीका सङ्कलन केन्द्रका कर्मचारी, ढुवानी कर्मचारीलगायतको जनशिक्तको व्यवस्थापन हुँदा ४० जना बढी युवा प्रत्यक्ष–अप्रत्यक्ष रोजगारीमा जोडिएको अध्यक्ष गौतमले बताए ।

दूधलाई एकत्रित गरी ताजा दूध बिक्री गर्ने, बिक्री गरेर बचेको दूधको दुग्धजन्य पदार्थ जस्तैः घ्यू, नौनी, छुर्पी, लस्सी, पनिर र आइसक्रिम बनाएर बिक्री गर्ने काम गर्दै आएको सहकारी सङ्घका प्रबन्धक वैकुण्ठप्रसाद शर्माले जानकारी दिए । सङ्घले किसानको दूधको मूल्य तिरेर बचत भएको रकमबाट किसानको पशु बीमा गर्ने, दूध तथा घाँस ढुवानी गर्ने तथा पशु प्रवर्द्धनात्मक काममा लगानी गर्ने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमा झण्डै एक हजार पाँच सय किसानले धेरै–थोरै दूध बजारीकरणका लागि पठाउँछन् ।

सङ्घमा आबद्ध भइनसकेका जिल्लाको दक्षिण क्षेत्रका किसानले पनि सहकारीमा आबद्ध भएर करोडौँको दूध बिक्री गर्ने गरेका छन् । सहकारीले एकलरूपमा रु एक करोड बढीको दूध उत्पादन र बिक्री गर्ने गरेको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्था बागलुङ नगरपालिका–१२ अमलाचौरका सचिव रुद्रनाथ शर्माले बताउनुभयो । कालीगण्डकी, नवनमूना, नारायणस्थान, पल्लोपाखा र जैमिनी दुग्ध उत्पादक सहकारीले उत्पादन गरेको दूध पोखरा निर्यात हुने गरेको छ ।

प्रकाशित : ९ आश्विन २०८०, मंगलवार ०८:०७