राष्ट्र बैंकद्वारा गाईको चित्र अङ्कित सिक्का सार्वजनिक, मूल्य १६ सय र ४ हजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

राष्ट्र बैंकद्वारा गाईको चित्र अङ्कित सिक्का सार्वजनिक, मूल्य १६ सय र ४ हजार



काठमाडौं । नेपाल राष्ट्र बैंक, टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधी उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना मेशिनहरू मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेकोछ यसै सिलसिलामा महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को विक्री वितरण सुरु गरेको छ । बबरमहलस्थित टक्सार महाशाखामा आयोजित सङ्क्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरे । महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी विक्री सुरु गरेको हो ।

१० ग्राम सिक्काको रु.१,६०० र २५ ग्राम सिक्काको रु.४,००० मूल्य निर्धारण गरिएको छ । बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको जानकारी टक्सार महाशाखाले दिएको छ ।

दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।

बैंक सञ्चालक समितिको २०८० जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिइएको थियो ।

प्रकाशित : ७ आश्विन २०८०, आईतवार १५:२४