अर्थतन्त्र चलायमान हुँदा मात्रै बैंकहरुले कर्जा दिने होः गभर्नर अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थतन्त्र चलायमान हुँदा मात्रै बैंकहरुले कर्जा दिने होः गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन् ।

शनिवार त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको कार्यक्रममा उनले बैंकहरुको कर्जा प्रवाह मुलुकको जीडीपी (कुल गार्हस्थ उत्पादन) भन्दा धेरै हुँदा पनि कर्जा प्रवाह नभएर अर्थतन्त्र चलायमान हुन नसकेको भन्ने गरिएको बताए ।

पछिल्लो समयमा अर्थमन्त्रीदेखि निजी क्षेत्र र आर्थिक क्षेत्रका जानकारहरुले बैंकहरुले ब्याजदर घटाउने र ऋण लगानी बढाउन नसक्दा अर्थतन्त्र झन विषम अवस्थामा पुगेको बताउँदै आएका छन् । तर अधिकारीले बैंकहरुले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान हुन नसेको भन्नेकुरा गलत भएको बताए ।

उनले अर्थतन्त्र चलायमान हुँदा मात्रै बैंकहरुले कर्जा दिने बताए । अधिकारीले बैंकहरुले कर्जा दिएर मात्रै अर्थतन्त्र चलायमान हुने भन्ने भ्रममा बस्न नहुने बताए । उनले नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने आर्थिक तथ्याङ्कहरु चुनौति दिने प्रचलन रहेको बताए ।

गभर्नर अधिकारीले नेपालको अर्थतन्त्रका धेरै प्यारामिटरहरुमा चुनौति रहेको बताए । उनले नेपालको अर्थतन्त्रमा धेरै मनि सप्लाई भएको वर्ष थोरै मूल्यवृद्धि भएको उदाहरणहरु रहेको बताए । अधिकारीले पछिल्लो समय विश्वका केन्द्रिय बैंकहरुले अर्थतन्त्रलाई स्थायित्व दिन र मूल्यवृद्धि नियन्त्रणको लागि नीतिगत रुपमा कडाईका साथ उभिएको बताए ।

उनले मुलुकको मूल्यवृद्धि नियन्त्रणमा राष्ट्र बैंकको पनि महत्वपूर्ण भुमिका हुने गरेको बताए । केन्द्रिय बैंकले लिने नीतिको प्रभाव मूल्य वृद्धिमा पर्ने अधिकारीको भनाई छ ।

प्रकाशित : ७ आश्विन २०८०, आईतवार १४:३२