नेचुरल साकाेसले १० प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेचुरल साकाेसले १० प्रतिशत लाभांश दिने



काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्व एवं संघीय सांसद एवं संसदीय अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । 

सभामा बोल्दै प्रमुख अतिथि चालिसेले सरकारको विशेष पहलबिना अहिलेको अर्थतन्त्रले लय नपक्रने बताए । विश्व अर्थतन्त्रमा आएको मन्दीले मुलुकको अर्थतन्त्रलाई समेत प्रभाव पारेको भन्दै उनले हरेक क्षेत्र संकटबाट गुज्रिरहेकाले यसलाई माथि उठाउन सरकारले भूमिका महत्वपूर्ण हुने बताए । आफु अर्थसमितिको सभापति भएको नाताले केहि समयभित्रै बैंकको ब्याजदर घटाइ बजारलाई चलायमान गराउन लागिपर्ने जनाए । 

मुलुकले खाद्यान्न लगायतका हरेक वस्तु विदेशबाट आयात गरिरहेकाले अब सहकारीहरु उत्पादनशील क्षेत्रमा जानुपर्नेमा उनले जोड दिए । घरगाडी जस्ता क्षेत्रमा गरेको करोडौं लगानीले राज्यलाई कुनै लाभ नहुने भन्दै चालिसेले उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी बढाउन उनले आग्रह गरे । 

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष ज्ञान बहादुर तामाङले शुभकामना मन्तब्य राख्दै सहकारी सदस्यको भएकाले संस्था बलियो भए सदस्यको आर्थिक सामाजिक हैसियत पनि बलियो हुँदै जाने औंल्याए । सदस्यहरुमा सहकारी मेरो हो भन्ने भावना जागृत गर्न आग्रह गर्दै उनले सहकारीबाट नै सदस्यको आर्थिक स्तर माथि उक्सनेमा दुईमत नभएको उनले जनाए । 

कार्यक्रममा बागमती प्रोस्कुनका कोषाध्यक्ष केशव दंगालले सहकारी, सामाजिक व्यवसाय र आर्थिक कारोबार गर्ने संस्था भएको बताए । सहकारीमा संकलन भएको पुँजीलाई उद्यमशीलतामा लगानी गर्नु उपलब्धीमूलक हुने उनको भनाई छ । एउटा साकोस राम्रोसँग उभिन सके अर्को साकोसको साख समेत बढ्ने हुँदा सदस्यले सहकारीप्रति सकारात्मक दृष्टिकोण बनाउनुपर्नेमा उनले जोड दिए । नेचुरल जस्ता राम्रा सहकारी समाजमा भए राज्यले लिएको समृद्धिको लक्ष्य प्राप्ति गर्न समय नलाग्ने उनको भनाई थियो । 

कार्यक्रममा संस्थाकी अध्यक्ष अमात्यले संस्थाले व्यक्तिले होइन विधिले चल्नुपर्छ भन्ने मुल्यमान्यता स्थापित गर्न सकेकाले अहिलेको विषम परिस्थितिलाई समेत जित्न सकेको बताइन् । सदस्यहरुको पूर्ण सहयोग र विश्वासका कारण वित्तीय संकटका बेलामा पनि संस्थाको गरिमालाई कायम राख्न सकेको उनको भनाई छ । 

संस्थाका सचिव एवं प्रबन्ध सञ्चालक विकल्प पाठकले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रगति प्रतिवेदन र यस आ.व.को बजेट सभामा प्रस्तुत गरेका थिए । मुलुकमा आएको आर्थिक मन्दी र केहि सहकारी संस्थाले गरेको गरेको गलत अभ्यासले गर्दा गत आर्थिक वर्ष चुनौतिपूर्ण बनेको उनले बताए । संस्थाको दीगोपनाका लागि वित्तीय सुशासन र पारदर्शितालाई अवलम्बन गर्दै संस्था अघि बढेकाले संकटको अवस्थामा पनि सहकारीको भीडमा संस्थाको छुट्टै पहिचान बनाउन सकेको उनको भनाई छ । संस्थाले प्रविधिलाई पहिलो प्राथमिकतामा राखेका र नेचुरल स्मार्ट एप, एटिएम, क्यूआरकोड स्क्यान विथ्ड्र, इ–पेमेन्ट, फण्ड ट्रान्सफर जस्ता सेवाहरु विगतदेखि नै सञ्चालनमा ल्याएको जनाए । सदस्यहरुलाई जन्मदेखि मृत्युसम्म संस्थाले सेवा पुर्याउने र सामाजिक क्षेत्रमा पनि विभिन्न योगदान दिँदै जाने उनले प्रतिवद्धता जनाए । 

संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म १७ करोड ८ लाख शेयरपुँजी, १ अर्ब ७७ करोड बचत संकलन, २ अर्ब ९ करोड ७५ लाख ऋण लगानी गरी १ करोड ४४ लाख रुपैया खुद नाफा आर्जन गरेको छ । संस्थाले त्यस अवधिमा २ अर्ब ६६ करोड ५६ लाख कुल कारोबार गर्न सकेको छ । संस्थाको जगेडा तथा अन्य कोषमा २५ करोड ४२ लाख र स्थिर सम्पत्ति २१ करोड ५३ लाख रहेको प्रतिवेदनमा उल्लेख छ । साधारण सभाले शेयर सदस्यलाई १० प्रतिशत नगद लाभांश बाड्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ।

सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक अच्युतम काफ्लेले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले मुख्य कार्यालयसहित ४ वटा सेवा केन्द्रमार्फत १२ हजार ५०० सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । सभामा विभिन्न विधामा उत्कृष्ट हुने कर्मचारी र सदस्यलाई सम्मान गरिएको थियो । साधारण सभामा नेचुरल साकोसको समग्र अवस्था समेटिएको एक वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो । 

प्रकाशित : ५ आश्विन २०८०, शुक्रबार २०:४६