काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा रु पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको बिजुली भारत निर्यात गरेको छ ।
प्राधिकरणले गत साउनमा रु एक अर्ब ९४ करोड ८४ लाख र भदौमा रु तीन अर्ब ४८ करोड ४८ लाख बराबरको विद्युत् भारतीय बजारमा निर्यात गरेको हो । दुई महिनामा तीन अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँ बराबर (रु पाँच अर्ब ४३ करोड ३१ लाख) विद्युत् निर्यात भएको हो ।
साउन र भदौमा भारततर्फ निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत बिक्रीदर क्रमशः आठ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ । दुई महिनाको समग्र औसत विद्युत् बिक्रीदर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा छ ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब एक सय १० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेडलाई बिक्री गरिरहेको छ ।
भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय २२ मेगावाट र एनभिभीएनलाई एक सय १० मेगावाट गरी कुल छ सय ३२ मेगावाट विद्युत् निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । यसमध्ये पाँच सय ६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर एक सय ३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको बताए ।
“देशभित्र उत्पादित विद्युत् यहीँ खपत गर्न पूर्वाधार संरचनाको सुधार तथा सुदृढीकरण गरिरहेका छौँ, विद्युत् नपुगेका ठाउँमा विद्युत् पुर्याउनका लागि विद्युतीकरणको कार्य पनि चलिरहेको छ”, कार्यकारी निर्देशक घिसिङले भने , “खपत गरी बचत भएको विद्युत् निर्यात गर्न दुई देशबीचका अन्तरदेशीय प्रसारण सञ्जाललाई थप विस्तार तथा पूर्णरूपमा प्रयोगमा ल्याउन पहल गरिरहेका छौँ ।”
Comment