मुक्तिनाथ बैंकमा शेयरधनी बचत खाता खोल्दा क्यापिटल र ब्रोकर कम्पनीको सेवा पनि पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुक्तिनाथ बैंकमा शेयरधनी बचत खाता खोल्दा क्यापिटल र ब्रोकर कम्पनीको सेवा पनि पाइने



काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेवाग्राहीहरुलाई सुविधा दिन र शेयर लगानी गर्न चाहने ग्राहकहरुलाई सम्पूर्ण सेवाहरु एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल र शेयर ब्रोकर कम्पनीहरुबीच त्रिपक्षीय व्यवसायिक सम्झौता गरेको छ ।

यो सम्झौता बमोजिमको सुविधाहरु मुक्तिनाथ सेयरधनी बचत खाता खोल्ने ग्राहकहरुले पाउने छन् । उक्त सम्झौता बामोजिम बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट तीन वटा कम्पनीहरुले (मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल र तोकिएका सेयर ब्रोकर कम्पनीहरु) दिने विभिन्न सेवा सुविधाहरु पाउन सक्ने जनाइएको छ ।

नयाँ व्यवस्था अनुसार मुक्तिनाथ सेयरधनी बचत खाता न्यूनतम मौजदात रु.१००/– मा खोल्न सकिने, निःशुल्क कनेक्टआईपीएस रजिष्ट्रेशन, निःशुल्क मोबाइल बैैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग, मुक्तिनाथ क्यापिटलबाट निःशुल्क डिम्याट खाता, मेरो सेयर रजिष्ट्रेशन र पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशतसम्म छुट तथा ब्रोकर कम्पनीहरुबाट निःशुल्क ब्रोकर खाताको सुविधा पाउने छन् ।

यो सम्झौतामा क्यापिटल म्याक्स (ब्रोकर नं. ६२), मियो सेक्युरिटिज् (ब्रोकर नं. ६६) र हातेमालो फाईनान्सियल सर्भिसेज् (ब्रोकर नं. ७२) आवद्ध भएका हुन् ।

सेवाग्राहीहरुलाई उक्त कम्पनीहरुबाट उपलब्ध हुने सेवाहरु भविष्यमा थप गर्दै लैजाने योजना पनि रहेको बैंकले उल्लेख गरेको छ ।

प्रकाशित : २ आश्विन २०८०, मंगलवार १६:२१