यो साता सुनको मूल्यमा सामान्य कमी, अमेरिकी रिजर्भ बैंक फेडको नयाँ नीति मुख्य कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

यो साता सुनको मूल्यमा सामान्य कमी, अमेरिकी रिजर्भ बैंक फेडको नयाँ नीति मुख्य कारण



काठमाडौं । अमेरिकी डलर मजवुत बन्दै गइरहेको भए पनि अमेरिकी रिजर्भ बैंक फेडले मौद्रिक नीति मार्फत ब्याजदर २ प्रतिशतमा स्थिर राख्ने नीति लिएका कारण उत्पन्न भएको सेलिङ प्रेसरले यो साता अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा केही कमी आएको छ । यो मुल्य विश्व बजारमा विगत तीन साता यताकै कम हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको कमीको प्रभावले नेपाली बजारमा समेत मुल्यमा सामान्य कमी आएको छ । तेल उत्पादक राष्ट्रहरुले तेलको उत्पादनमा समेत कमी ल्याएको हुनाले आगामी दिनमा सुनको मुल्यमा उतार चढाव देखिन सक्ने नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए।

उनँका अनुसार नेपाली बजारमा यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९५ हजार ९ सय ३५ रुपैयाँ रहेको सुनको मुल्य साताको दोस्रो दिन सोमबार साताकै सबैभन्दा बढी अर्थात प्रति १० ग्राम ९६ हजार २० रुपैयाँ सम्म पुगेको थियो । त्यसपश्चात मंगलबार स्थिर रहेको सुनको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ९५ हजार ८ सय ५० रुपैयाँमा झर्याे । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम ८५ रुपैयाँले कम हो भने साताकै उच्च मुल्य कायम भएको दिन सोमबारको तुलनामा प्रति १० ग्राम १ सय ७० ले कम हो।

यो साता नेपाली बजारमा चाँदीको मुल्य स्थिर रहेको छ । साताको पहिलो दिन १ हजार १ सय ९६ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य तेस्रो दिन साताकै सबैभन्दा बढी अर्थात प्रति १० ग्राम १ हजार २ सय ४ रुपैयाँ ५० पैसा कायम भयो । साताको अन्तिम कारोबार भएको दिन शुक्रबार पुनः प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९६ रुपैयाँमा झरेको छ । विश्व बजारमा चाँदीको मुल्य विगत छ महिना याताकै सस्तो भएको छ ।

प्रकाशित : २९ भाद्र २०८०, शुक्रबार १४:३१