मीड सोलु हाइड्रोपावरको आइपीओमा आजबाट आवेदन दिन पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

शेयर बजार

मीड सोलु हाइड्रोपावरको आइपीओमा आजबाट आवेदन दिन पाइने



काठमाडाैं । मीड सोलु हाइड्रोपावरको आज शुक्रबार भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको हो । तर सर्वसाधारणलाई छुट्याइएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीलाई ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।

यस्तै, कम्पनीका कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा लाइएको हो । यस आइपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सबै सेयर बिक्री नभएमा भने असोज १२ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ ।

यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत आवेदन दिन सकिनेछ । रेटिङ एजेन्सी इक्र नेपालले यो आइपीओलाई ‘इक्रा एनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०८० असार ३१ गते उक्त रेटिङ दिएको थियो ।

यो रेटिङ २०८१ असार २९ गतेसम्म बाहल रहनेछ ।कम्पनीले सोलुखुम्बु जिल्लास्थित सोलु खेलाको पानी प्रयोग गरी ९.५ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिसकेको छ । यस कम्पनीले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारीक उत्पादन समेत सुरु गरेको छ ।

यस जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्ने अनुमति २०७७ माघ २५ गते प्राप्त गरेको थियो । आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ –आइडीसी समेत) रहेको छ । त्यस्तै प्रति मेगावाट अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रुपैयाँ रहेको छ । आयोजनाको साधारण लगानी र्फिता हुने अवधि ६.९१ वर्ष छ भने आयोजनाको डिस्काउण्ट लगानी फिर्ता हुने अवधि १०.८७ वर्ष छ । एनपीभी ८९ करोड ९० लाख ३७ हजार रुपैयाँ रहेको छ । मीड सोलु हाइड्रोपावरको अधिकृत पुँजी ८० करोड रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी ५९ करोड ८७ लाख २० हजार रुपैयाँ छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी जारी पुँजी बराबर नै अर्थात् ७४ करोड ८४ लाख रुपैयाँ पुग्नेछ । यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ८०% र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको हिस्सा र सर्वसाधारण सेयरधनी समूहको हिस्सा २०% रहनेछ ।

प्रकाशित : २९ भाद्र २०८०, शुक्रबार ०७:३२