६० किलो सुन भित्र्याउने समूहले नै ३०२ किलो सुन भित्र्याइसके छः सीआईबी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार टिभी

६० किलो सुन भित्र्याउने समूहले नै ३०२ किलो सुन भित्र्याइसके छः सीआईबी



काठमाडाै । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो ७१८ ग्राम सुन भित्र्याउन समूहले नै थप ३०२ किलो सुन त्यसअघि नै भित्र्याएको दाबी गरेको छ ।

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानपछि लाजिम्पाटमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले यही समूहले पहिला ३०२ किलो र अहिले ६० गरी ३६२ किलो सुन भित्र्याएको पाइएको बताएकी हुन् ।

उक्त प्रकरणमा प्रत्यक्षरुपमा ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको सिआइबीले जनाएको छ । सिआइबी प्रमुख बज्राचार्यले प्राविधिक पाटोसहितलाई हेरेर अझै वैज्ञानिक बनाउने काम गरिएको बताइन । उनका अनुसार अनुसन्धानका साथै विशेषज्ञ टोलीलाई समेत राखेर वैज्ञानिक तरिकाले अनुसन्धान गरिएको छ । त्यसपछि अपरेसनल टोलीले विभिन्न ठाउँमा पक्राउ तथा बरामद गर्ने, लोकेसन भेरिफाई गर्नेलगायत काम गरेको, अर्काे डकुमेन्टेसन टोलीले अभियोजनलगायत कामलाई कानुनसम्मत बनाएको र आन्तरिक तथा बाह्य समन्वयको टोलीले समेत सहयोग पु¥याएको सिआइबी प्रमुख बज्राचार्यले जानकारी दिएन ।

उक्त सुन प्रकरणको अनुसन्धान टोलीका संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले तस्करहरुले सुरुमा ट्रायल गरेर परीक्षण गरेपछि मात्रै सुन तस्करी गरेको पाइएको बताए । विभिन्न सातवटा कम्पनीबाट सुन तस्करी भएको र अहिले रेडी ट्रेडका नाममा आएको सुनको मात्रै अनुसन्धान सकिएको तर बाँकी अनुसन्धान जारी रहने उनको भनाई थियो । तहगतरुपमा मान्छे तयार पारेर तस्करी गरेको पनि पाइएको चर्चा गर्दै संयोजक थापाले ती कम्पनीले अटो पार्टमा सुन ल्याएको, हङकङमा रहेको कार्गाे कम्पनीले सुन पठाएको र लाजिम्पाट तथा टोखामा लगेर गाल्ने गरिएको तथ्य पनि फेला परेको हो ।

भन्सारको भौतिक मूल्याङ्कन र जाँचपासका सबै प्रक्रियामा जोखिम व्यवस्थापन शाखाले मनिटरिङ गर्ने गर्दछ तर त्यहाँ संलग्न कर्मचारीहरु पनि अनुसन्धानको दायरमा रहेका छन् । सिआइबीले अब केही बेरमा उक्त रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिललाई बुझाउने पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम पुगेकोे थियो । उक्त सुन अहिले राष्ट्र बैंकको संरक्षणमा रहेको छ ।

प्रकाशित : 13 September, 2023 1:40 pm