काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महतले हाल सेयर कारोबार ओरालो लाग्नुका विविध कारण रहेको उल्लेख गर्दै यसलाई सहज बनाउन सरकारका तर्फबाट आवश्यक काम र संवाद भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर दिँदै उनले सेयर कारोबारलाई पारदर्शी बनाउन तथा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर रहेको बताए ।
अर्थमन्त्री डा महतले कानूनतः सबैखाले नागरिकले आफ्नो हौसियतअनुसार सेयर बजारमा लगानी गर्न छुट भएको उल्लेख गर्दै त्यस्तो लगानीलाई अनुचित मान्न नहुने स्पष्ट पारे । अर्थमन्त्री डा. प्रकाश शरण महतले सेयर बजारमा रहेको १२ करोडको नीति हटाउने संकेत गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूसँगको प्रश्नको जवाफ दिँदै महतले राष्ट्र बैंकले सेयर बजारमा लगाएको १२ करोडको नीतिले परेको प्रभावको विषयमा आवश्यक संवाद भइरहेको बताएका हुन् । साथै उनले सेयर बजारमा कुनै पनि व्यक्ति नठगिउन् र कसैले एकाधिकार गर्न नसकोस् भनेर सरकारले निगरानी गरिहेकोसमेत बताए।
उनले भने, ‘हामी चाहन्छौँ, यो सेयर कारोबारले सहज रूप लियोस् । लगानीकर्ताहरूको लगानी डुब्न नपाओस् । त्यसप्रति सरकार गम्भीर छ । यसलाई पारदर्शी बनाउने, नीतिगत र प्रक्रियागत प्रणालीगत सुधार ल्याउनेतर्फ सरकार गम्भीर छ ।’





Comment