प्रतिकित्ता ५० रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै हाथवे इन्भेष्टमेन्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रतिकित्ता ५० रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै हाथवे इन्भेष्टमेन्ट



काठमाडाैं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले भदौ २१ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आज आह्वानपत्र प्रकाशन गर्दै भदौ २१ देखि भदौ २५ सम्म आईपीओ बिक्री खुला गर्ने जनाएको हो । कम्पनीले सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्ने छ ।

कम्पनीको प्रति कित्ता शेयर मूल्य ५० रुपैयाँ रहेको छ । आईपीओमा आवेदन दिंदा न्युनतम २० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था छ । शेयर बाँडफाँड हुँदा पनि न्युनतम २० कित्ताको दरले नै बाँडफाँड हुने छ । कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरि बाँडफाँड समेत गरिसकेको छ । आईपीओ निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

नेपाल धितोपत्र बोर्डले असार १७ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले आफ्नो शेयरको प्रति कित्ता अंकित मूल्य ५० रुपैयाँ कायम गरेको छ । सोहि कारण कम्पनीको आईपीओ प्रति कित्ता ५० रुपैयाँ मै आउने छ । कम्पनीले आफ्नो कुल पुंजीको १२.५० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीको जारी पुंजी १ अर्ब १७ करोड रहेको छ । आईपीओ निष्काशनपछि कम्पनी चुक्ता पुंजी १ अर्ब १७ करोड पुग्ने छ । हाल नेपाली बजारमा सोल्टी होटेल लिमिटेडले प्रति कित्ता १० रुपैयाँ अंकित मूल्य कायम गरेर शेयर निष्काशन गरेको थियो।

सोल्टी होटेल बाहेक सबै कम्पनीले प्रति कित्ता १०० रुपैयाँ कायम गरेर शेयर निष्काशन गरेका थिए। हाथवे प्रति कित्ता ५० रुपैयाँमा शेयर निष्काशन गर्ने पहिलो कम्पनी बनेको छ । यस कम्पनीले शेयर बजारमा लगानी गर्दै आएको छ । यस कम्पनीको संस्थापकहरुमा आईएमई समुहमा आवद्द व्यक्तिहरु रहेका छन् ।

कम्पनीको ३०.१ प्रतिष शेयर हेमराज ढकालसंग रहेको छ । उनी आईएमई ग्रुपको को-फाउण्डर तथा म्यानेजिङ डाइरेक्टर हुन् । त्यस्तै कम्पनीको २८.१ प्रतिशत शेयर एसआर हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रालिसंग रहेको छ । ८.७ प्रतिशत शेयर अम्बिका प्रसाद पौडेलसंग रहको छ भने ५.७ प्रतिशत शेयर निमिषा इन्भेष्टमेन्ट प्रालिसंग रहेको छ ।

प्रकाशित : 28 August, 2023 10:51 am