यस कारण रद्द हुँदै छ रिलायबल डेभलपमेन्ट बैंकको हकप्रद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यस कारण रद्द हुँदै छ रिलायबल डेभलपमेन्ट बैंकको हकप्रद



काठमाडौं ,८ फागुन  । रिलायबल डेभलपमेन्ट बैंकले यसअघि निष्काशन गर्ने भनेको हकप्रद शेयर निष्काशन नहुने भएको छ । बैंकले आगामी साधारणसभाबाट उक्त हकप्रद शेयर निष्काशन रद्द गर्ने तयारी थालेको छ ।

गत असार १७ गतेको १० औं वार्षिक साधारण सभाबाट शतप्रतिशत (एक बराबर एकको अनुपातमा) हकप्रद शेयर निष्काशन गर्ने र ग्लोबल आईएमई बैंकसँग एक्वायरमा जाने निर्णय गर्ने प्रस्तावसहित रिलायबल डेभलपमेन्ट बैंकले चैत्र २ गतेको लागि साधारणसभा बोलाउने भएको छ ।

यसअघि एनबी बैंकसँग मर्जरको कुरा चलिरहेको रिलायबलले एकाएक मर्जर छलफलबाट बाहिरिएर आफै पूँजी पुर्याउने योजना सार्वजनिक गरेको थियो । सोहि अनुसार उसले शतप्रतिशत हकप्रद दिने घोषण गर्नासाथै बजारमा यसको शेयर मुल्य ८ सय रुपैयाँ प्रतिकित्तासम्म पुगेको थियो । त्यहीबखत रिलायबलका संस्थापकहरुले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयरको २७ प्रतिशत हिस्सा साधारणमा परिणत गरेका थिए । संस्थापक शेयर साधारणमा परिणत गराएर विक्री गर्नकै लागि उनीहरुले हकप्रदको घोषण गरेको बुझिन्छ ।

साधारणसभाबाट हकप्रद निष्काशन गर्ने निर्णय पारित गरेर पनि बैंकले लामो समयसम्म प्रक्रिया अघि नबढाई बसेको थियो । जब ग्लोबल आईएमईसँग मर्जरको लागि सम्झौता गरियो, सो सम्झौतामा नै उसले हकद निष्काशन बन्द गरेर एक्विजिशनमा जाने सहमति गरेको थियो ।

प्रकाशित : ८ फाल्गुन २०७३, आईतवार ०९:५८