उद्यमशिलता सुरु गर्दा आफुभित्रबाट सुरु गर्नुपर्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

उद्यमशिलता सुरु गर्दा आफुभित्रबाट सुरु गर्नुपर्छ



उद्यमशिलता आफुभित्रबाट आउने कुरा हो । यी कुरा सबैमा हुदैन । उद्यमशिलता भनेको आफु भित्र भएको अन्तरनिहित विशेष क्षमता हो । जुन आयात गरेर, सिकेर, पढेर आउने पनि होइन् । जोखिम लिएर व्यवसाय गर्ने र अरुलाई उदाहरण दिन सक्ने गरी नेतृत्व लिन सक्ने क्षमता आफुभित्र हुनुपर्छ । पहिलो कुरा उद्यमशिलता सुरु गर्दा आफुभित्रबाट सुरु गर्नुपर्छ ।

दोस्रो कुरा उद्यमशिलता लिन हामीले शिक्षाबाट, आफुभन्दा अग्रजबाट के सिप सिक्यौ त्यो महत्वपुर्ण हुन्छ । हामी परम्परागत रुपमा कस्तो प्रणालीबाट आएका युवाहरु छौ भने हाम्रा बाबुबाजेले कि त खेतीकिसान गर्ने, कि भने नोकरी गर्ने । उद्यमी बन्न त अहिले बल्ल अरुले सिकाउदै सिक्दै आएका हौ । पछिल्लो समयमा जतिपनि उद्यमशिलता विकास भएका छन् । त्यो हेर्ने हो भने रैथाने प्रकारले अगाडी बढेका कम र बाहिरी सिको गरेर अगाडी बढेका बढी छन् । यसले के देखाउछ भने अब हामीले हाम्रै क्षमताले, हाम्रै सम्भावनाको आधारबाट यस्तो सिप सिक्ने यस्तो शिक्षा हासिल गर्ने र यस्तो प्रकारले हामीले आफुलाई विकास गर्ने युवा अवस्थामा शैक्षिक अवस्थामै हामी क्षमता विकास गर्न सकु कि जसले हाम्रा व्यवसाय सुरु गरेर सुरुमा भौतिक आवश्यकता पुरा गरौंला । त्यसपछि क्रमश सामाजिक आवश्यकता पुरा गरौंला । त्यसपछि हामीमा एक किसिमको स्वाभिमान हुन्छ । साथै यसै चरणमा समाजलाई केहि गरेर देखाउ भन्ने चाहना पनि हुन्छ । त्यस चरणमा हामी जाने हो ।

तपाइहरु म्यानेजमेन्टको विधार्थी हुनुहुन्छ । तपाइहरुलाई उद्यमी बन्न के ले उत्प्रेरित गर्छ ? त्यहिबाट गर्ने हो । त्यसैले सुरुमा व्यवसाय गर्दा हातमुख नै जोड्ने हो । सानो व्यवसायबाट ठुलो गर्दै लैजाने हो । तर त्यसबीचमा तपाईले गरेका नवीनतम कामले तपाई उत्कृष्ठ बन्न सक्नुहुन्छ । अरुभन्दा पृथक देखिनुहुन्छ । समाज र व्यवसायमा नेतृत्व दिन सक्ने, नयाँ प्रकारले व्यवसाय गर्न गराउन सक्ने हुनुहुन्छ । यसरी बल्ल व्यवसाय गर्ने हो । तपाइहरुलाई लाग्ला यसका लागि कस्ले बातावरण सिर्जन गर्ने ? मेरो कुरा शिक्षाबाटै सुरु हून्छ । हामी सबैको साधारण शिक्षा हो । हामी जब ७५ प्रतिशत जति साधारण शिक्षा पढ्छौ र शिक्षाबाट बाहिर निष्कदा सिपविहीन भएर निष्किरहेका हुन्छौं । त्यो सिप हामीले संगसंगै लिएर जानुपर्छ ।

जस्तो अर्थमन्त्री ज्युलाई ध्यानाकर्षण गराउन चाहान्छु । हालै १० प्लस २ पास गरेका युवालाई सीप र दक्षतासँग जोड्न सके युवा बाहिरिने क्रम रोकिनसक्छ । दक्षतासंग जोड्ने कुरामा कतिपय सिटिभिटीसंग कम छ, प्राविधिक शिक्षालय खोलेका छौं । श्रम तथा सामाजिक कल्याण मन्त्रालयले, उद्योगले तालिम दिन्छ । यो कुरामा युवाहरुलाई तालिममा जोड्यौ भने युवाहरु बाहिरीने क्रम रोकिन्छ । अर्काे कुरा भनेको हामी अलि विजनेश मोडालिटीमा पनि जान पर्छ ।

यो दुई प्रकारले हुन्छ । प्राईभेट कम्पनीले, संस्था, उद्योगहरु, सरकारी निकायहरुबाट पनि दिन सक्नुहुन्छ । जसले व्यापार कसरी सुरु गर्ने ? के मा मार्केट छ ? के मा कच्चापर्दाथ पाइन्छ ? के मा सीपयुक्त जनशक्ति, प्रविधी उपलब्ध छन् ? भन्ने प्रारम्भिक कुराहरुको छलफल गरेर अगाडी बढ्न सकिन्छ । हामीले युवा उद्यमी विकास गर्न सहुलियतपुर्ण कर्जा, महिला उद्यमी सुरु गर्न कर्जा कार्यक्रम सुरु गर्यौ । बैदेशिक रोजगारबाट फर्केकाहरुलाई उद्यमी बनाउने लगायतका कुरा अगाडी ल्यायौ तर त्यसको लाभ लिन सकिएको छैन् । यसलाई लाभ लिन सक्ने तुल्याउनका लागि विजनेश इन्क्युबेशनको प्रक्रियामा हामी आगाडी बढौं ।

अर्काे भनेको म अर्थमन्त्री हुदाँ सुरु गराएको थियो । अन द जब ट्रेडिङ ‘आजेटी’ को प्रक्रिया लगाडी बढाउ । मैले बजेटमार्फत यदि ओजेटीमा उद्योगहरुले चलाउन चाहनुहुन्छ भने ३ महिनाको ओजेटीमा २५ देखि ३० प्रतिशत रकम सरकारले व्यहोर्छ । बाकी उद्योगले व्यहोर्नुस् । त्यसपछि सिप सिकेर काम गर्न सक्ने सम्भव भए काममा लगाउनुस् । हैन भने सरकारले अर्काे कुनै बाटो गर्छ भनेर ओजेटीको बाटोपनि खोजेको हो । त्यसैले अहिले हामीले गर्ने भनेको स्कुल ड्रपआउट, हाइ स्कुलमा जान नसक्नेलाई टेक्नोलोजि र खास गरी स्कीलमा लिङ्क गर्ने । साथै अलि बढी आर्थिक पाटोका विषयमा सिकाउने । लोन दिने संस्थाहरु हुनुहुन्छ । लोनको बीमा गर्ने व्यवस्था गरिएको छ । त्यसरी बीमा गरिएको ८० प्रतिशत प्रिमियमपनि सरकारले व्यहोर्ने भनेको छ । उद्यमीलाई आफैले उद्यमगर्दा आफ्नो स्वास्थ्यबारे सुविधा होस भनेर स्वास्थ्य बीमा गर्न पनि फेरी प्रिमियम दिएको छ । यति धेरै स्किमहरु छन् नि तर विडम्बना हामीले त्यो स्किम बारे राम्रो संग जानकारी पाएका छैंनौ । दोस्रो कुरा जसले जनकारी पायो उसले लगेर राम्रो संग काम गरेन ।

सरकारलाई पुनरावलोकन गर्न बाध्य तुल्याइयो । यस्तो कुरा पनि राम्रो हैन् । त्यसैले हामी सरकारले सबै कुरा ठिक गर्छ भन्ने मात्र हैन । सरकारले अनुकुल बातावरण मिलाइदिने हो । उद्यमशिलताको कुरा गरिरहदाँ हामीले केहि कुरामा ध्यान दिन जरुरी छ । एउटा त सिप कसरी दिने, जोखिम लिन सक्ने कसरी बनाउने । त्यो जोखिम पनि कतिपय बीमा गर्न सकिन्छ कतिपय सकिदैन् । कुन कुन जोखिमलाई बीमा गर्न सकिन्छ सिकाउने ।

बीमा गर्न नसकिने जोखिम मात्रै व्यवसायले बहन गर्न गरि गयौ भने मात्रै व्यवसायमा पनि उद्यमी बन्ने आट आउँछ । सम्बन्धित कानुन सरकारले बनाइदिनुपर्यो। सरकारले बनाइदिएको अनुकुल बातावरणमा हामीले व्यवसाय गर्नुपर्यो। त्यसका लागि प्रविधि ल्याउने काम सरकारले गर्नुपर्छ । त्यसमा सबैको पहुचँ पुग्दैन् । हाम्रो खुल्ला सिमाना भएका कारण साना मझौला व्यवसाय जहिलेपनि अप्ठेरोमा पर्छन् । यस बजार सुरक्षाका लागि दुई पक्षिय व्यापार सन्धी संझौतालाई मिलाएर लैजानुपर्छ । आन्तरिक उत्पादनलाई संरक्षण दिने लगाएतका बजेटमा आएका कुरालाई कार्यन्वयन गरेर लैजानुपर्छ ।

बुधबार राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानले काठमाडौँमा आयोजना गरेको ‘इन्टरप्रेनसीप मोटिभेसन कन्क्लेभ’लाई सम्बोधन गर्दै डा. खतिवडाले राखेको धारणा

प्रकाशित : ३ भाद्र २०८०, आईतवार ११:२५