समस्याग्रस्त सुपर लघुवित्तको सञ्चालन पदका लागि को-को परे सर्ट लिस्टमा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

समस्याग्रस्त सुपर लघुवित्तको सञ्चालन पदका लागि को-को परे सर्ट लिस्टमा ?



काठमाडौं । समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनको लागि ९ जनाको नाम सर्ट लिस्ट भएको छ । १४ जनाको आवेदन परेकोमा आवेदनको शैक्षिक योग्य,कार्य अनुभव, व्यवसायिक कार्ययोजना र सो को प्रस्तुतीकरण मार्फत ९ जनालाई अन्तर्वार्ताको लागि सर्टलिस्ट गरिएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले असार १४ गते समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गर्नु पर्ने भएकोले १ जना संयोजक र १ जना सदस्यको लागि दरखास्त आह्वान गरेको थियो। जसमा संयोजक पदको लागि ९ जना र सदस्य पदको लागि ५ जनाको आवेदन परेको थियो।

संयोजक पदमा आवेदन दिएका ९ जना मध्ये ५ जना र सदस्य पदमा आवेदन दिएका ५ मध्येबाट ४ जना अन्तर्वार्ताको लागि छनौट भएका हुन् । संयोजक पदतर्फ अन्तर्वार्ताको लागि छनौट हुनेमा शेष नारायण पोख्रेल, तेजेन्द्र शर्मा लम्साल, मिन बहादुर बोहरा, निर्मल कुमार कार्की र कुलमणि तिम्सिना रहेका छन् । त्यस्तै सदस्य पदतर्फ अन्तर्वार्ताको लागि छनौट हुनेमा शेष नारायण पोख्रेल, कुल चन्द्र पराजुली, रुपक थापा र देव चन्द्र राय रहेका छन् ।

राष्ट्र बैंकले यी उम्मेदवारहरुको अन्तर्वार्ताको लागि समय तोकेको छ । जसमा संयोजक पदको अन्तर्वार्ता भदौ ३ र सदस्य पदको अन्तर्वार्ता भदौ ४ मा हुनेछ । अन्तर्वार्तापछि राष्ट्र बैंकले आवेदक मध्येबाट समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनका लागि एक संयोजक र एक सदस्य गरि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गर्ने जनाएको छ।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार १७:०४