जीवन बीमा व्यवसाय २.६७ प्रतिशतले बढ्याे, बढी योगदान बाग्मती प्रदेशको « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

जीवन बीमा व्यवसाय २.६७ प्रतिशतले बढ्याे, बढी योगदान बाग्मती प्रदेशको



काठमाडौं । जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको अन्त्यसम्ममा एक खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणका अनुसार यस अवधिमा १४ जीवन बीमा र २ ओटा लघुजीवन बीमा कम्पनीले १ करोड ४१ लाख ३७ हजार बीमालेख विक्री गरी उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।

जुन अघिल्लाे आर्थिक वर्षको यसै अवधिकाे तुलनामा २.६७ प्रतिशतले बढेकाे हाे । अघिल्लाे आवमा जीबन बीमा कम्पनीहरूले एक खर्ब ३६ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

गत असारसमान्तसम्म कम्पनीहरूले ३१ अर्ब २३ करोड ८५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् भने एक खर्ब ११ अर्ब ११ करोड ७० लाख रुपैयाँ बीमालेख नवीकरण शुल्कका रुपमा संकलन गरेका छन् ।

यस अवधिमा सबैभन्दा बढी बीमाशुल्क नेपाल लाइफ इन्स्याेरेन्स कम्पनीले आर्जन गरेको छ । कम्पनीले गत आवको असार मसान्तसम्ममा ३७ अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

यस्तै सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनीहरुको दोस्रो स्थानमा एलआइसी नेपाल रहेको छ । यो कम्पनीले गत आवभरी १७ अर्ब ४६ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । तेस्रोमा नेशनल लाइफले १६ अर्ब ४३ करोड कुल बीमा शुल्क आर्जन गर्दा हिमालयन लाइफले १४ अर्ब ८९ करोड रुपैयाँ आर्जन गरी चौथो स्थानमा रहेको छ ।

प्राधिकरणको तथ्यांकलाई आधार मान्दा सूर्यज्योति लाइफले ८ अर्ब ८१ करोड, राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ३० करोड, एशियन लाइफले ७ अर्ब १ करोड, सिटिजन लाइफले ५ अर्ब ८९ करोड, सानिमा रिलायन्स लाइफले ५ अर्ब ६७ करोड रुपैयाँ मेट लाइफले ५ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

त्यस्तै, आइएमई लाइफले ४ अर्ब १८ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ७९ करोड, सन नेपाल लाइफले ३ अर्ब ७८ करोड, प्रभु लाइफले २ अर्ब ७ करोड र महालक्ष्मी लाइफले १ अर्ब ५८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यी सबै कम्पनीले आर्जन गरेको बीमाशुल्क अघिल्लो आर्थिक बर्ष २०७८र७९ को तुलनामा भने ३ अर्ब ६६ करोड रुपैयाँले बढी हो । अघिल्लो आवमा सबै जीवन बीमा कम्पनीहरुले १ खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

कुन प्रदेशबाट कति उठ्यो बीमाशुल्क ?

गत आर्थिक बर्ष २०७९/८० मा संञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले सबैभन्दा बढी बीमाशुल्क बागमती प्रदेशबाट उठाएका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार उक्त प्रदेशबाट बीमा कम्पनीहरुले १ करोड ३० हजार सक्रिय बीमालेखबाट ६३ अर्ब ९ करोड रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका हुन् ।

यस्तै यसअवधिमा बीमा कम्पनीहरुले लुम्बिनी प्रदेशबाट १० लाख २६ हजार सक्रिय बीमालेखबाट २१ अर्ब १९ करोड, कोशी प्रदेशबाट ११ लाख १५ हजार बीमालेखमार्फत १७ अर्ब ५९ करोड, गण्डकीबाट सात लाख २२ हजार सक्रिय बीमालेखबाट १४ अर्ब २२ करोड बीमाशुल्क आर्जन गरेका छन् ।

साथै, मधेश प्रदेशबाट १३ अर्ब १५ करोड रुपैयाँ बीमाशुल्क, सुदूरपश्चिमबाट ७ अर्ब ५५ करोड र कर्णाली प्रदेशबाट ५ अर्ब ५३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

प्रकाशित : २७ श्रावण २०८०, शनिबार १६:०६