नेपाली श्रमिकहरूको सम्मान र हितरक्षा गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

नेपाली श्रमिकहरूको सम्मान र हितरक्षा गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकको सम्मान र हितरक्षा गर्न निर्देशन दिएका छन्। शुक्रबार श्रम बजार मर्यादित र सुरक्षित बनाउने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन् ।

वैदेशिक रोजगारीका क्रममा नेपालीले विभिन्न प्रकृतिका समस्या भोग्नुपरेको चर्चा गर्दै प्रधानमन्त्री दाहालले ती समस्याको दीर्घकालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरी अर्को बैठकमा प्रस्ताव पेस गर्नसमेत निर्देशन दिए।

प्रधानमन्त्री दाहालको पहलमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रमबजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको छ। छलफलमा सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नेबारे समेत महत्वपूर्ण छलफल भएको छ। यसका निम्ति यही साउन ३१ गते एक औपचारिक समारोहको आयोजना गरिने भएको छ।

छलफलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, नेपाल सरकारका मुख्यसचिव डा। बैकुण्ठ अर्याल, अर्थसचिव, परराष्ट्र सचिव, श्रम सचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखा हेर्ने सचिवलगायतका विशिष्ट पदाधिकारी सहभागी थिए।

प्रकाशित : २६ श्रावण २०८०, शुक्रबार १२:०७