७ बुँदे माग राख्दै केन्द्रीय दुग्ध सहकारी संघ आन्दोलनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

७ बुँदे माग राख्दै केन्द्रीय दुग्ध सहकारी संघ आन्दोलनमा



काठमाडाैं । केन्द्रीय दुग्ध सहकारी संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संघले विभिन्न ७ बुँदे माग राख्दै साउन २७ गतेभित्र सम्बोधन नभएमा साउन २८ गतेदेखि देशब्यापी रुपमा आन्दोलन गर्ने बताएको छ ।

संघका अध्यक्ष अम्मर बहादुर कुँवरका अनुसार माग पुरा नभएमा साउन २८ गते सबै जिल्ला प्रशासनमा बिहान ११:३० बजे ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको छ । त्यस्तै साउन ३० गते बिहान ९ बजेदेखि काठमाडौंको पुल्चोक स्थित मन्त्री क्वाटरमा व्यानर कार्ड सहित प्रदर्शन गर्ने र साउन ३१ गते बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरी धर्ना बस्ने कार्यक्रम तय भएको अध्यक्ष कुँवरले जानकारी दिए । उनका अनुसार पहिलो चरणको यी आन्दोलनले माग पुरा नभएमा साउन ३२ गते पत्रकार सम्मेलन गरी थप आन्दोलनका कायक्रम घोषणा गरिनेछ ।

संघका मागहरु:

१. दुग्ध विकास बोर्डको खारेजी तुरुन्त फिर्ता लिइयोस् ।

२. सिमा नाकामा रहेका पशु क्वारेन्टाइन कार्यालय, पशु तथा कृषिका केन्द्रीय प्रयोगशाला खारेजी गर्ने निर्णय तुरुन्त फिर्ता लिइयोस् ।

३. लम्पी स्किन रोगबाट किसानले ठुलो क्षति भोग्नुपरीरहेको छ यसको रोकथाममा आवश्यक उपचार र नेक्सानी भएका पशुको क्षतिपूर्ति तुरुन्त उपलब्ध गराईयोस् ।

४. मिल्क होलिडेको अन्त्य गरी पशुपालन पेसालाई सुनिश्चित र व्यवसायिक रुपमा अगाडी बढाउने कार्यक्रम ल्याइयोस् । किसानले खाइपाई आएको मूल्यमा कुनै पनि बाहानामा घटाउन पाइदैन र उद्योगले यो भन्दा अघिको सम्झौता अनुसार खरीद गरीरहेको दूध कुनै पनि बाहनामा कटौति गर्न पाइने छैन ।

५. दूधको उत्पादन लागत कम गरि विदेशी उत्पादनसंग प्रतिस्पर्धा गर्न सक्ने अवस्था सृजना गरियोस् । प्रत्यक्ष किसानले प्राप्त गर्ने गरि उत्पादनका आधारमा अनुदानका कार्यक्रम घोषणा गरियोस् ।

६. विदेशबाट आउने जुनसुकै कच्चा दूध तथा दुग्धजन्य पदार्थ पूर्ण रुपले बन्द गरियोस् ।

७. सहकारीको माध्यमबाट पशुधन संरक्षण कार्यक्रम लागु गरियोस् ।

प्रकाशित : २२ श्रावण २०८०, सोमबार १३:१०