अर्ब क्लबमा दौडिदै राष्ट्रिय सहकारी बैंक,२१ बर्षमा कुल बचत ५८ अर्ब नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बिशेष

अर्ब क्लबमा दौडिदै राष्ट्रिय सहकारी बैंक,२१ बर्षमा कुल बचत ५८ अर्ब नाघ्यो



काठमाडौं । मुलुकमा वित्तिय संकट र अर्थतन्त्रमा संकुचन भइरहेका बेला करोडबाट अर्ब क्लबमा प्रवेश गरिसकेको राष्ट्रिय सहकारी बैंकले सेवा विस्तार र कारोबारलाई थप आक्रमक बनाउँदै लगेको दाबी गरेको छ । बैंक खोल्नका लागि सरकारबाट २०६१ सालमा एक करोड रुपैंयाँ र सहकारी संस्थाहरुबाट सेयरबापत उठाइएको एक करोड गरी दुई करोडबाट सुरु भएको बैंक यतिबेला अर्बको कारोबार गरिरहेको छ ।

पछिल्लो तथ्यांक अनुसार बैंकको कुल सम्पत्ति मात्रै ६५ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ पुगेको छ । २०८० असार मसान्तसम्म सहकारी बैंकमा कुल सेयर सदस्यहरुको संख्या १६ हजार ६० रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ४७४ रहेको छ । जबकी बैंक स्थापना हुँदा शुरुवातीमा पाँचसय मात्र सदस्य थिए ।

प्राप्त विवरण अनुसार हाल बैंकको सेयर पुँजी दुई अर्ब ८० करोड ८० लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख, कुल बचत ५८ अर्ब २४ करोड ५९ लाख, ऋण लगानी ३२ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । बैंकको तरलता रकम २१ अर्ब ५४ करोड ७४ लाख रुपैयाँ रहे पनि कुल संस्थागत पुँजी एक अर्ब १३ करोड ७१ लाख रुपैंयाँ र विभिन्न कोषको जम्मा रकम ५० करोड ४४ लाख रुपैंयाँ रहेको चालु आर्थिक वर्षको असार मसान्तको अपरष्किृत वित्तीय विवरणमा उल्लेख छ ।

यो सबै तथ्याकं र उपलब्धीका बारेमा सहायक महाप्रवन्धक राजेश श्रेष्ठ भन्छन्,‘छरिएर रहेका पूँजीलाई सहकारी संस्थामार्फत अर्थतन्त्रको मूलधारमा ल्याउने उद्देश्य साथै गा¥होसारो पर्दा वा अन्य बैंकले पत्याउन नसकेका बेला सहकारी बैंकले गरेको सहयोगको प्रतिफल हो ।’ देशका कुना कन्दरासम्म संजाल विस्तार गर्ने बैंकको रणनीति र हामी सबैको मेहेनतको प्रतिफलका रुपमा आज अर्बको कारोबार गर्ने हैसियत बनाएको उनको भनाइ छ । ‘पछिल्ला बर्षहरुमा विश्वभर आएको वित्तिय संकट र कोभिडका कारण सोचेअनुरुप अघि बढ्न सकेनौं । विभिन्न नीतिगत समस्याहरु देखापरे । तर पनि हामी थप बलियो बन्न विभिन्न बाटाहरु पहिल्याइरहेका छौं । अन्य बैंकहरुजस्तो सहज हामीलाई छैन । हाम्रा आफ्नै मापदण्डहरु छन । जसका बाबजुत सेवा, संजाल विस्तार र विश्वास जित्ने अभियानमा निरन्तर दौडिरहेका छौं,’ उनले भने ।

केही बर्ष यता सिंगो सहकारी क्षेत्रमा समस्याहरु उत्पन्न भइरहेका छन् । संख्यात्मक रुपमा सहकारीहरु खुलेपनि गुणात्मक रुपमा काम गर्न सकिरहेका छैनन् । वित्तिय मात्र होइन विश्वासको संकट पनि देखिएको छ । । अहिले बैंक, उद्योग धन्दालगायत हरेक क्षेत्र समस्यामा छन् । खासगरी, सहरी क्षेत्रमा बचत तथा ऋणको कारोबार गर्ने केही सहकारीहरुमा समस्या आएपनि बैंकले आफ्नो सेवा सुविधा र प्रविधिमैत्री बनाउँदै लगेको संचालकहरुको दाबी छ ।

२०औं स्थापना दिवसका अवसरमा गत बर्ष बैंकले सार्वजनिक गरेको तथ्याकं अनुसार १९ वर्षे आफ्नो यात्रामा सहकारी क्षेत्रलाई नै आफ्नो प्रमुख कार्यक्षेत्र बनाई २ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पुँजी पु¥याउन सफल जनाएको थियो । आर्थिक वर्ष २०७८÷७९ को असार मसान्तसम्म संस्थाको कुल सम्पति ६० अर्ब पुर्याएको थियो ।

‘हामी अविचलित रुपमा अघि बढेका छौं । बीचबीचमा हुने उतार चढाव र चुनौतिहरुको सामना गर्दै दुई दशकमै बैंकको उचाइलाई अहिलेको अवस्थामा ल्याएका छौं,’ बैंकका अध्यक्ष केबी उप्रेती भन्छन,‘ शुरुमा पाँचसय वटा सहकारीबाट एक करोड संकलन र सरकारबाट प्राप्त एक करोड गरी दुई करोडबाट काम शुरु गरेका हौं । बैंकको क्षेत्र, शाखा, सदस्य संख्या निरन्तर बढायौं । अहिले १६ हजार प्लस सदस्य छन् । ६७ अर्वजति कारोबार भइरहेको छ । ५८ अर्बजति बचत भयो होला । दुई अर्ब ८० करोडजति शेयर छ भने कर्जा ३३ अर्बजति छ । यो हामी सबै सहकारीकर्मी र अभियन्ताहरुको सफलता हो ।’

बैंकको इतिहास
नेपालमा २०२० सालमा सहकारी बैंकको स्थापना भएको हो । २०१९ सालमा सहकारी ऐन आएपछि सोही ऐनको आधारमा सहकारी बैंक स्थापना भएको हो । तर सहकारी सम्बन्धी ठोस नीतिको अभावमा २०२४ सालमा सहकारी वैंक, कृषि विकास बैंकमा परिणत हुन पुगेको थियो । २०४८ सालमा सहकारी ऐन र ०४९ सालमा सहकारी नियमावली आउनुका साथै राष्ट्रिय सहकारी संघ र सहकारीका अगुवाहरुको चाहना र पहलबाट २०५७ सालमा सहकारी ऐन २०४८ लाई संशोधन गरी सहकारी बैंक स्थापना सम्बन्धि व्यवस्था गरिएको थियो ।

त्यसबेला नेपाल सरकारको एक करोड शेयर रकम र सहकारी संघ संस्थाहरुको सहभागितामा २०६० असार २५ गते राष्ट्रिय सहकारी बैंक लिमिटेड विधिवत रुपमा दर्ता भयो । बैंकले आफ्ना सदस्य सहकारी संघरसंस्थाहरू बीच २०६१ साउन १९ गतेदेखि कारोवार शुरु गरेको हो । सहकारी विभागको मातहतमा संचालन हुँदै आएको बैंकले २०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ्ग कारोवार गर्न स्वीकृति प्राप्त गरेको हो । बैंकमा नेपाल सरकार, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी संघ लिमिटेड, केन्द्रीय सहकारी संघहरु, जिल्ला सहकारी संघहरु, बिषयगत सहकारी संघहरु, विभिन्न प्रकृतिका प्रारम्भिक सहकारी संस्थाहरु आबद्ध छन् ।

बैंक स्थापनाको स्मरण गर्दै अध्यक्ष उप्रेती भन्छन्,‘बैंक स्थापनाको संघर्ष भिन्नै छ । शुरुमा दिपक बाँस्कोटा र म आफैं बैंक स्थापनाका लागि धेरै दौडधुप गरेका थियौं । त्यसबेला तत्कालीन अर्थमन्त्री महेश आचार्यको पहलमा सरकारबाट बैंक स्थापनार्थ एक करोड रुपैंयाँ प्राप्त भएको थियो । त्यो पैसालाई शेयरमा रुपान्तरण गर्दै पाँचसय सहकारी सदस्य संस्थाबाट एक करोड संकलन गरेर कारोबार शुरु गरेका हौं । इतिहास संघर्षपूर्ण रहेपनि अहिले आएर गौरव महशुस हुन्छ र उत्साह जागेर आउँछ ।’

प्रकाशित : १९ श्रावण २०८०, शुक्रबार ०७:००