राष्ट्रिय सहकारी बैंकको रणनीतिमा के छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

राष्ट्रिय सहकारी बैंकको रणनीतिमा के छ ?



काठमाडौं । तीन खम्बे अर्थनीतिको एक खम्बाका रुपमा रहेको सहकारी क्षेत्र यतिबेला देशका कुना कन्दरासम्म फैलिसकेका छन् । छोटो अवधिमा असीमित सफलता हासिल गरिरहेको सहकारी क्षेत्र २०४८ सालमा ऐन आउँदा एक हजारको हाराहारी थिए । तर अहिले ३० हजार बढी छन् । ७३ लाख सदस्य बनाएर नेपालको सबैभन्दा ठुलो सामाजिक संजाल सहकारीमै छ ।

मुलुकको कुल अर्थतन्त्रको वित्तीय संरचनामा १८ देखि २० प्रतिशत अंश सहकारीको मात्र मानिन्छ । स्वावलम्बन र आपसी मद्दत अङ्गीकार गरेका सहकारी नहुनेलाई हुने बनाउन आर्थिक तथा सामाजिक दायित्व निर्वाह गरिरहेका छन् । आर्थिक कारोबारका दृष्टिकोणले सहकारी संस्थामा सर्वसाधारणको बचत र सेयर पुँजी गरी सात खर्ब बढी परिचालन भएको छ । सहकारीले झन्डै ८८ हजार नागरिकलाई प्रत्यक्ष र १० लाखभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी सिर्जना गरिरहेको छ ।

सहकारी विभागको तथ्याङ्क अनुसार सातै प्रदेशका ७४९ पालिकामा फैलिएका सहकारी संस्थामा ९४ अर्ब सेयर पुँजी, ४७८ अर्ब बचत संकलन तथा ४२६ अर्ब लगानी परिचालन भएको छ । यसैमध्येको महत्वपूर्ण हिस्सा ओगटेको राष्ट्रिय सहकारी बैंक लिमिडेटले १० बर्षे रणनीति तर्जुमा गरेर काम गरिरहेको दाबी गरेको छ ।

बैंकले ‘उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक’ परिकल्पना गरी १० वर्षे रणनीतिक योजना तय गरी अघि बढिरहेको जनाएको छ । बैंकको आन्तरिक सवलीकरण तथा सुशासन, नविनतम प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय संजालीकरणमा प्रभावकारी उपस्थिती, गुणस्तरीय सेवामार्फत सहकारी संघ संस्थाको दिगो विकासमा टेवा, सहकारीहरुको आन्तरिक सवलीकरण र व्यावसायिक सफलताका लागि बैंकको वित्तीय तथा गैर वित्तीय सेवाहरुमा विविधीकरण, सहकारी शिक्षा तथा तालिम संचालन, सहकारी स्तरोन्नतीका लागि स्तरीकरण कार्यक्रम गरिरहेको र गर्दै जाने जनाएको छ ।

साथै विविध कार्यक्रम संचालन तथा प्रादेशिक रुपमा सहकारीको संस्थागत विकास कार्यक्रम, सहकारी संघहरुको सवलीकरण, सरकारी नीति तथा कार्यक्रममा तीन वटै तहका सरकारहरुसँग सहकार्य गर्दै राष्ट्रको विकास तथा संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्य प्राप्तीमा सहकारी क्षेत्रको भूमिका तथा योगदानमा उल्लेख्य वृद्धि गर्ने गरी बजेट तथा कार्यक्रम विकास गरिएको बैंकले जनाएको छ ।

आर्थिक नीतिका तीन खम्बा मध्येको सहकारी क्षेत्रको विकासमा समाहित भइरहेको,  वित्तीय क्षेत्रमा देखिएको तरलता अभावबाट देशको आर्थिक क्षेत्रमा देखा परेको समस्यामा आफूले विचलित नभइ सदस्य सहकारी संघ संस्थाहरुलाई सहजसेवा उपलब्ध गराउन बैंक सफल भएको दाबी गरिएको छ ।

बैंकका अध्यक्ष केबी उप्रेतीका अनुसार बैंकले अब ५० प्रतिशत उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने र पूर्ण बैंकको सेवा दिने लक्ष्य छ । ‘हामी कम्पनी अन्तर्गत होइनौं, हाम्रो मूल्य मान्यता फरक छ । तर सेवा साथै कारोबार विस्तारमा हाम्रो भिन्नै लक्ष्य र रणनीति छ । सोही अनुसार अघि बढ्छौं,’ अध्यक्ष उप्रेतीले भने,‘ कारोबार खर्ब माथि पुर्याउने लक्ष्य छ । शेयर, निक्षेप, सदस्य संख्या, शाखा बृद्धि गर्ने, प्रविधियुक्त सेवा विस्तार गर्ने, छुट्टै बैंक ऐन ल्याएर पूर्ण बैंकको काम गर्ने, शुसासन, जनशक्ति बृद्धि, क्षमता अभिबृद्धि, कारोबार बृद्धि र भौतिक पूर्वाधारको विकासमा धेरै काम गर्नुपर्नेछ ।’

प्रकाशित : १८ श्रावण २०८०, बिहीबार २१:१२