अवधि नपुग्दै बीचमै पोलिसी रोक्ने बीमित बढे, एक बर्षमा एक लाख चार हजारबढी बीमालेख सरेण्डर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

अवधि नपुग्दै बीचमै पोलिसी रोक्ने बीमित बढे, एक बर्षमा एक लाख चार हजारबढी बीमालेख सरेण्डर



काठमाडौं । जीवन बीमाका पोलिसी खरिद गरेर अवधि नै पुरा नभइ छाड्नेको संख्या लगातार बढेको छ। गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा एक लाख चार हजार ४०६ वटा पोलिसी सरेन्डर भएको छ । जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा २७.६६ प्रतिशतले बढी हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार अघिल्लो आवमा ८१ हजार ८६० वटा पोलिसी सरेन्डर भएको थियो । तथ्याङ्क अनुसार यस अवधिमा सरेन्डर गर्नेको संख्यासंगै बीमा रकम पनि बढ्दै गएको छ । यस अवधिमा १४ अर्ब २७ करोड ७५ लाख ८६ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ। यो रकम अघिल्लो आवको असार मसान्तसम्मको तुलनामा भने १७.२० प्रतिशतले बढी हो । अघिल्लो आवमा १२ अर्ब १८ करोड ८ लाख १८ हजार रुपैयाँ बराबरको बीमा शुल्क सरेन्डर भएको थियो ।

जीवन बीमा गरेर अवधि नपुग्दै उक्त पोलिसी बीचमै रोक्नु सरेण्डर गर्नु हो । बीमितहरुले निश्चित अवधिको लागि भनेर जीवन बीमालेख खरिद गर्ने तर समय नपुगी उक्त पोलिसी त्याग्ने क्रम बढ्दो क्रममा रहेको देखिएको छ । तथ्याङ्क अनुसार सबैभन्दा धेरै सरेन्डर नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देखिएको छ। गत आवमा कम्पनीको ३२ हजार १२६ वटा पोलिसी सरेन्डर भएको छ । समिक्षा अवधिमा नेपाल लाइफको । चार अर्ब ७८ करोड ८४ लाख ५६ हजार रुपैयाँ बराबरको रकम सरेन्डर भएको हो । कम्पनीको पोलिसी सरेन्डर २०‍.७६ प्रतिशतले बढेको हो । तर, रकमका आधारमा भने ४.५२ प्रतिशतले घटेको छ । अघिल्ला आवमा कम्पनीको पाँच अर्ब एक करोड ५४ लाख ४९ हजार रुपैयाँ बराबरको २६ हजार ६०३ वटा पोलिसी सरेन्डर भएको थियो ।

दोस्रो स्थानमा भने लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ । गत आवमा कम्पनीको तीन अर्ब ५१ करोड १८ लाख ९५ हजार रुपैयाँ बराबरको २० हजार १८० वटा पोलिसी सरेन्डर भएका छन् । कम्पनीको पोलिसी सरेन्डर अघिल्लो आवको तुलनामा १०४.५० प्रतिशतले वृद्धि भएको हो । यो रकममा भने १९.५८ प्रतिशतले बढोत्तरी देखिएको छ ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय बीमा संस्थानको भने एक अर्ब १७ करोड ४२ लाख ९६ हजार रुपैयाँ बराबरको सरेन्डर भएको छ । गत आवमा कम्पनीको १४ हजार ४११ वटा पोलिसी सरेन्डर भएको हो । अघिल्लो आवमा भने कम्पनीको ८५ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको १६ हजार ९१७ वटा पोलिसी सरेन्डर भएको थियो ।

यस्तै, गत आवमा नेशनल लाइफको एक अर्ब ४४ करोड २३ लाख रुपैयाँ बराबरको नाै‌ हजार नाै वटा, हिमालयन लाइफको ९३ करोड २१ लाख रुपैयाँ बराबरको ७ हजार ५६८, एशियन लाइफको ४९ करोड ३९ लाख बराबरको छ हजार ५७९, मेट लाइफको ४२ करोड ७२ लाख बराबरको चार हजार ४५६ र सूर्यज्योति लाइफको ७७ करोड ४४ लाख बराबरको तीन हजार ६६६ वटा पोलिसी बन्द भएका छन् ।

गत आवमा रिलायवल नेपाल लाइफको सात करोड ८८ लाख रुपैयाँ बराबरको एक हजार ५०८ वटा, सिटिजन लाइफको ११ करोड ८४ लाख बराबरको एक हजार २९५, सानिमा रिलायन्सको १८ करोड ८५ लाख बराबरको एक हजार २२४ वटा र आइएमई लाइफको १० करोड २७ लाख रुपैयाँ बराबरको एक हजार ७१ वटा पोलिसी सरेन्डर भएका प्राधिकरणले जनाएको छ।

प्राधिकरणको तथ्याङ्क अनुसार साविकको प्रभु लाइफको १५ करोड ७३ लाख रुपैयाँ बराबरको ६५९ वटा, सन नेपाल लाइफको चार करोड ८९ लाख बराबरको ४४२ वटा र साविकको महालक्ष्मी लाइफको तीन करोड ५७ लाख रुपैयाँ बराबरको ३१२ वटा पोलिसी सरेन्डर भएको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित : १६ श्रावण २०८०, मंगलवार ११:४०