प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले थाल्यो लघुबीमा व्यवसाय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले थाल्यो लघुबीमा व्यवसाय



काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आज (साउन ११) गतेदेखि लघुबीमा व्यवसाय सुरु गरेको छ। नेपाल बीमा प्राधिकरणबाट लघुबीमा संचालनका लागि स्वीकृती पाएको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको कार्यालय आज साउन ११ गते उद्घाटन भएको हो । कम्पनीको उद्घाटन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरेका हुन् ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नरेशकुमार रोका छन् भने सञ्चालक समितिको अध्यक्षमा कृतिको अग्रवाल छन्। ‘बीमा प्राधिकरणबाट टर्म पोलिसीका रुपमा अन्य सम्पत्ति पोलिसी स्वीकृत भएअनुसार हामीले हाललाई यसै पोलिसीमार्फत सेवा सुरु गरेका छौँ’, सीईओ रोकाले भने, ‘अब चाँडै नै घर बीमा, मोटर बीमा, इन्जिनियरिङ बीमा र मौद्रिक बीमा पोलिसी पनि ल्याउनेछौँ।’

यसका साथै सीईओ रोकाले लघु निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्न चुनौती रहेको बताए। ‘ठूला निर्जीवन बीमा कम्पनीहरुले नसमेटिएका क्षेत्रलाई फोकस गरी निर्जीवन बीमा सेवा दिनछौँ’, सीईओ रोकाले भने, ‘सहरहरुमा पनि शाखा खोली हामी व्यवसायिक रुपमा केन्द्रित हुन्छौँ।’

सीईओ रोकाले लघुवित्त संस्थाहरुसँग समन्वय गरी वित्तीय दायित्वका लागि बीमा सेवा प्रदान गर्ने बताए। वित्तीय दायित्वका लागि ५ लाख रुपैयाँसम्म र पछि ५० लाखसम्मको घर बीमा गर्ने उनले जानकारी दिए।

यसका साथै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले बीमितको सेवा तथा सहजताका लागि टेक्नोलोजीमा जोड दिने सीईओ रोकाले बताए। ‘सेवाग्राहीले सहजै घरमा बसी अनलाइनमार्फत बीमा गराउन सक्नेछन्’, उनले भने।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लालगायत नेपालभरि शाखा सञ्जाल विस्तार गरी उपलब्ध र अत्याधुनिक प्रविधिको उच्च प्रयोगमार्फत सरल, सहज र प्रभावकारी लघुबीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको सीईओ रोकाले बताए। उनका अनुसार प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ठूला बीमा कम्पनीहरुबाट सेवा लिन नसकेका न्यून आय भएका दुर्गम स्थानका सीमान्तकृत वर्गसम्म स–सानो रकमको बीमा गराई प्रभावकारी रुपमा लघु निर्जीवन बीमा सेवा प्रदान गर्नेछ।

बीमा प्राधिकरणको निर्देशिका अनुसार लघुबीमा कम्पनीहरु पब्लिक लिमिटेड कम्पनीका रुपमा दर्ता हुनुपर्नेछ र चुक्तापुँजीको न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्नुपर्नेछ। कम्पनीको हाल चुक्तापुँजी ७५ करोड रुपैयाँ रहेको छ।

प्रकाशित : ११ श्रावण २०८०, बिहीबार १५:५५