कृषि विकास बैंकको व्याज छुट साउन १५ गते सम्म थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कृषि विकास बैंकको व्याज छुट साउन १५ गते सम्म थप



काठमाडौँ । कृषि विकास बैंकले व्याज रकम चुक्ता गर्ने अवधि साउन १५ गते सम्म थपेको छ । बैंकबाट कर्जा लिई कारोबार गरिरहेका कर्जा ग्राहकहरूलाई असार मसान्त सम्म बैंकलाई बुझाउनु पर्ने सम्पूर्ण व्याज रकम चुक्ता गरेमा भुक्तानी गरेको व्याज रकममा ७ प्रतिशत छुट दिने व्यवस्था गरेकोमा सो सुविधालाई थप गरी श्रावण १५ गते सम्म दिने व्यवस्था गरेको हो ।

नेपाली अर्थतन्त्रमा देखिएका विभिन्न समस्याका कारण बैंकबाट कर्जा लिई कारोबार गरिरहेका व्यवसायीहरूको व्यययोग्य आयमा भएको कमीका कारण कर्जा ग्राहीहरूलाई व्याज बुझाउन कठिनाइ परेको भन्दै यस्तो विषम परिस्थितिमा बैंकले प्रदान गरेको छुट सुविधाबाट बैंकका कर्जा ग्राहकहरूले राहत महसुस गरुन् भन्ने अभिप्रायले बैंकले यो प्याकेजको समयावधि बढाएको बैंकले जनाएको छ ।

विशेष गरी दुर्गम तथा ग्रामीण इलाकामा बसोबास गर्ने र कृषि पेशामा आबद्ध कर्जा ग्राहकहरूमा बैंकको कर्जा बढी लगानी रहेकोले यस सेवाबाट बैंकका त्यस्ता खालका ग्राहकहरूले बढी लाभ लिने सक्ने भएको भन्दै उक्त सुविधाको म्याद थप गरेको र छुट व्यवस्थामा बैङ्कले तोकेका शर्तहरु समेत लागु हुने बैंकले जनाएको छ ।

थप जानकारीका लागि आफूले कारोबार गरिरहेको कृषि विकास बैंकको शाखामा सम्पर्क गरी यस सुविधाबाट लाभान्वित हुन समेत बैंक आफ्ना कर्जा ग्राहीहरूलाई आह्वान गरेको छ ।

प्रकाशित : 27 July, 2023 12:09 pm