काठमाडौं । नयाँ लाइसेन्स (अनुमतिपत्र) पाएका लघुबीमा कम्पनीमध्ये धनगढी केन्द्रीय कार्यालय रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स भोलि बिहिबारबाट सञ्चालनमा आउने भएको छ ।
यस कम्पनीको सेवा (कारोबार) शुभारम्भ नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गर्ने जनाइएको छ । यसरी कारोबार सुरु गर्ने यो चौंथो लघुबीमा कम्पनी हो । अझै तीन वटा लघुबीमा सञ्चालनमा आउन बाँकी छ ।
यसअघि गार्डियन लाइफले लघुबीमाको प्रोडक्ट स्वीकृत नगरी कारोबार सुरु गर्दा विवादमा परेकोमा प्रोटेक्टिभले सो अवस्था आउन नदिन पहिलो नै प्रोडक्ट स्वीकृत गरेर कारोबार सुरु गर्न लागेको हो ।
प्रोटेक्टिभको सञ्चालक समिति अध्यक्षमा कृतिका अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नरेशकुमार रोक्का छन् । यस कम्पनीमा श्रद्धा अग्रवाल, संगीतादेवी मोर, मोतिलाल दुगड, अनुपम राठी, कल्याणी इन्भेष्टमेन्ट प्रा.लि., शिवम् सिमेन्टका संस्थापक अध्यक्ष विश्वनाथ गोयल, सतिशकुमार मोरलगायतको लगानी रहेको छ ।
विशेषगरी ग्रामीण क्षेत्रका न्यून आयस्तरका मानिसहरुको बीमा गर्ने भन्दै प्राधिकरणले जीवन र निर्जीजन दुर्वतर्फ लघुबीमा कम्पनीहरुलाई लाइसेन्स दिएको हो । यस्ता कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपियाँ तोकिएको छ ।
Comment