विकास बैंकहरुले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विकास बैंकहरुले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने



काठमाडौं । बिकास बैंकहरुले दिगो बिकासमा योगदान दिने उद्देश्यले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका छन् । उत्पादनमूलक क्षेत्रमा गरिने लगानीलाई हरित कर्जा योजना अन्तर्गत समेट्ने निर्णय डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालको कार्य समितिले गरेको हो ।

एशोसियसनका अनुसार हाललाई कृषिजन्य उद्यम , बनजन्य उद्यम , जल उर्जा, सौंर्य उर्जा, जैविक उर्जा, वायु उर्जा, केवलकार÷रोपवे, विद्युतीय सवारी साधन, फोहोर पानी प्रशोधन गर्ने उद्यम मा गरिने लगानीलाई हरित कर्जा योजना अन्तर्गत समेटिने छ।

बैंक तथा वित्तीय संस्थाहरुको लगानी तुलनात्मकरुपमा कम उत्पादनशील क्षेत्रमा बढ्दै गएकाले उत्पादनमूलक र दिगो बिकासमा टेवा दिने क्षेत्रमा कर्जा बढाउने उद्देश्यले ‘हरित कर्जा योजना’ ल्याउने निर्णय गरेको एशोसियसनले जनाएको छ । हरित कर्जा योजनामा गरिने लगानीका लागि बिस्तारै स्रोतको सुनिश्चतता पनि गर्दै जाने उद्देश्यले ‘हरित निक्षेप योजना’ पनि ल्याइने एशोसियसनले उल्लेख गरेको छ ।

एशोसियसनका अनुसार ‘हरित निक्षेप योजना’ मा अन्य बचत र मुद्दति निक्षेपमा भन्दा शुन्य दशमलव पच्चिस प्रतिशत अंकले बढि व्याज प्रदान गर्ने र ‘हरित कर्जा योजना’ मा अन्य सोही प्रकृतिको कर्जा योजनामा भन्दा शुन्य दशमलव पच्चिस प्रतिशत अंकले कम व्याजमा कर्जा प्रवाह गर्नेगरी कर्जा योजनाको प्रडक्टपेपर बिकास गरिने भएको छ । सदस्य बैंकहरुले आ–आफ्ना बैंकको व्यवसायिक रणनीति अनुसार अझ बढी सुबिधा दिनेगरी प्रडक्टपेपरलाई बिकास गर्न सक्ने निर्णय पनि एशोसियनले गरेको छ । कार्वन उत्सर्जन गर्ने र जलवायु परिवर्तनलाई असर गर्ने कुनै पनि उद्योग/व्यवसायले हरित कर्जा सुबिधा लिन पाउने छैनन् ।

आ–आफ्ना बैंकका संचालक समितिबाट प्रडक्टपेपर स्वीकृत गराइ ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ बजारमा ल्याउनका लागि एशोसियसनले आफ्ना सदस्य बैंकहरुलाई परिपत्र जारी गरिसकेको छ ।

प्रकाशित : ३ श्रावण २०८०, बुधबार १२:०४