कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीलाई आरजुको धम्की « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीलाई आरजुको धम्की



काठमाडौं । एक बर्षपछि मंगलबार बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई कांग्रेस नेतृ आरजु राणा देउवाले धम्की दिएकी छन् ।

मंगलबार अपरान्ह पार्टीको केन्द्रीय समिति बैठक सकिएपछि आरजुले केन्द्रीय सदस्य शिवाकोटीलाई धम्काएकी हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा मनलाग्दी अभिव्यक्ति दिँदै हिँडेको भन्दै आरजुले धम्क्याएको सँगै रहेका एक नेताले बताए।

प्रत्यक्षदर्शीका अनुसार बैठक सकिएपछि बाहिरिने क्रममा एकले अर्कालाई अभिवादन गर्दैगर्दा आरजुले ‘अजयजी’ भन्दै बोलाएर बाहिर के बोल्दै हिँडेको भनेर प्रश्न गरिन्। अजयले मैले के बोलेँ र भनेर प्रतिप्रश्न गरेपछि ‘म प्रमाणसहित प्रस्तुत हुन्छु’ भनेर आरजुले अजयलाई ‘देखाइदिने’ धम्की दिएको प्रत्यक्षदर्शीले बताए।

यसबारे शिवाकोटीले पुष्टि गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणको बिषयमा नेतृ राणाले धम्क्याएको बताए। आरजुले धम्काएपछि केन्द्रीय समितिको बैठक कक्षबाट नेता उमेशजंग रायमाझीले शिवाकोटीलाई बाहिर लगेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता बालकृष्ण खाँड थुनामा छन् भने आरजु पनि यस प्रकरणमा मुछिएकी छन्।

प्रकाशित : ३ श्रावण २०८०, बुधबार ०८:२७