विकास बैंकले पनि सार्वजनिक गरे नयाँ ब्याजदर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विकास बैंकले पनि सार्वजनिक गरे नयाँ ब्याजदर



काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदर घटाएपछि विकास बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनदेखि लागू हुने गरी धेरैजसो विकास बैंकले घटाएर ब्याजदर सार्वजनिक गरेका हुन् ।

महालक्ष्मी विकास बैंकले बचतमा ३.२८ देखि ७.५० प्रतिशत, व्यक्तिगत मुद्दति निक्षेपमा ११.१० प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ८.१० प्रतिशत ब्याज दिने भएको छ । बैंकको आधारदर ११.९७ प्रतिशत छ । बैंकबाट कर्जा लिँदा आधार दरमा बढीमा ५ प्रतिशत प्रिमियम थपिनेछ ।

बैंकबाट १ देखि ५ वर्षका लागि होम लोन लिँदा १३.९९, ५ देखि १० वर्षका लागि १४.९९, १० वर्षभन्दा बढी अवधिका लागि १५.९९ प्रतिशत ब्याज लाग्नेछ । यस्तै अटो लोन १ देखि ५ वर्षका लागि १३.९९, ५ देखि १० वर्षका लागि १४.९९ ब्याज लाग्नेछ।

कामना सेवा विकास बैंकले साउन १ देखि लागू हुनेगरी नयाँ ब्याजदर लागू गरेको छ । बैंकले बचतमा ५.५० प्रतिशतदेखि ८.५० प्रतिशत ब्याज दिने भएको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागत रुपमा ७.९९ प्रतिशत ब्याज तोकेको छ । बैंकले निक्षेपको ब्याजदर घटाउँदा आधार दर घट्न गई ऋणीलाई राहत दिने नीति लिएको देखिन्छ ।

जेठ मसान्तसम्म बैंकको ब्याज १२.०६ प्रतिशत थियो । बैंकबाट कर्जा लिँदा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थपिनेछ ।

ज्योति विकास बैंकले बचतमा ५.५० देखि ७.५० प्रतिशत ब्याज दिने भएको छ । यस्तै बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ १०.१० प्रतिशत र संस्थागततर्फ ८.१० प्रतिशत ब्याज तोकेको छ । बैंकको आधारदर जेठसम्म १२.३७ प्रतिशत छ । बैंकबाट कर्जा लिँदा आधारदरमा बढीमा ५ प्रतिशतसम्म प्रिमियम थपिनेछ ।

सिन्धु विकास बैंकले साउन १ देखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा ५.८० प्रतिशतदेखि ७.८० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । मुद्दति निक्षेपमा व्यक्तितर्फ ११.३० प्रतिशत र संस्थागत रुपमा ८.३० प्रतिशत ब्याज पाइनेछ ।

बैंकको जेठ मसान्तसम्मको आधारदर १२.८४ प्रतिशत छ । कर्जा लिँदा ऋणीले आधारदरमा बढीमा ५ प्रतिशतसम्म प्रिमियम थप्नुपर्नेछ ।

कर्पोरेट डेभपमेन्ट बैंकले साउन १ देखि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ११ प्रतिशत र संस्थागत ९ प्रतिशत ब्याज दिनेछ । बचतमा भने बैंकले ६ देखि ८.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । जेठ मसान्तसम्म बैंकको आधारदर १३.१८ प्रतिशत छ। बैंकबाट कर्जा लिँदा ६.२५ प्रतिशतसम्म प्रिमियम थप तिर्नुपर्नेछ ।

लुम्बिनी विकास बैंकले साउन १ देखि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ११.१० प्रतिशत र संस्थागत ८.१० प्रतिशत सार्वजनिक गरेको छ । बैंकले बचत खातामा ६ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकको आधारदर १२.१८ प्रतिशत छ भने कर्जा लिँदा आधारदरमा ४.५ प्रतिशतसम्म प्रिमियम थपिनेछ ।

सांग्रिला डेभलपमेन्ट बैंकले पनि साउन १ देखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकका अनुसार साउन १ बाट मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ११.१० प्रतिशत, संस्थागततर्फ ८.१० प्रतिशत प्राप्त हुनेछ ।

बैंकले बचतमा ५.५० देखि ८.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । जेठ मसान्तसम्म बैंकको आधारदर १२.१० प्रतिशत छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशतसम्म प्रिमियम थपिनेछ ।

प्रकाशित : ३१ असार २०८०, आईतवार १७:०६