यस्ताे छ न्युरोडकाे संकटा सहकारीले जारी गरेकाे स्वेत पत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यस्ताे छ न्युरोडकाे संकटा सहकारीले जारी गरेकाे स्वेत पत्र



काठमाडाैं । न्युरोडमा रहेको संकटा बचत तथा ऋण सहकारी सस्थाले सेयर सदस्यहरुलाई स्वेत पत्र जारी गरेकाे छ। संस्थाले शुक्रबार एक कार्यक्रम आयोजना गरी सबै सदस्यलाई संस्था सुरक्षित/असुरक्षित जे जस्तो रहेपनि संचालक समिति जबाफदेहि हुनेगरी २०८० जेष्ठ मसान्तसम्मको स्वेत पत्र जारी गरेको हो।

२०५७ साल देखि संचालनमा आएको सहकारीमा २६ सय ७६ जना सदस्यको ४ करोड ४८ लाख ४४ हजार बचत छ। त्यस्तै, सस्थाको बाहि्य ऋण तथा सापटी १७ करोड ८३ लाख ९९ हजार रहेको उक्त पत्रमा उल्लेख छ। जेष्ठ सम्म संस्थाले करिब २०० सदस्यलाई ऋण लगानी गरेको जनाएको छ । संस्थाको धुलिखेल, काभ्रेको खावा, महाराजगन्ज, सीतापाइला, झापा, ताहाचल, चाल्नाखेल, दक्षिणकालीनजिकै रहेको बाँसबारी, न्युरोडलगायतका ठाउँमा घर जग्गामा लगानी रहेको संस्थाका प्रबन्धक बिन्देश्वर श्रेष्ठले बताए । कतिपय त धितो कर्जाबाट मिलाएका पनि उनले बताए।

श्रेष्ठका अनुसार काभ्रेको खावामा १८ रोपनी १० आना, धुलिखेलमा १० आना र महाराजगन्जमा २ करोड ७५ लाखमा लिलामीमा १२ वर्षअघि घर सकारेको जनाएको छ । अहिले त्यसको मूल्य ५ करोड रुपैयाँ पर्ने सहकारीले जनाएको छ ।

यस्तै सीतापाइला १५ करोड रुपैयाँ पर्ने ५१ आना जग्गा, ताहाचलमा करिब ९ करोड रुपैयाँ पर्ने २० आना जग्गा, छाउनीमा ६ करोड ५० लाख रुपैयाँ पर्ने जग्गा, झापामा आफ्नै नाममा २५ करोडको जग्गा रहेको श्रेष्ठले बताए । उनका अनुसार झापाको उक्त जग्गामा प्लानिङ भइसकेको र सरकारले जग्गाको कित्ताकाट खोलेपछि बिक्री गर्ने उनको दाबी छ ।

ताहाचलमा १ करोडको जग्गा, चाल्नाखेलमा १ करोड पर्ने जग्गा र काठमाडौंको न्युरोडमा करिब ६ अर्ब पर्ने महर्जन कम्प्लेक्स रहेको श्रेष्ठले बताए । उनका अनुसार सहकारीका सञ्चालकको नाममा २५-३० करोडको कर्जा रहेको र दक्षिणकाली जाने बाटोमा रहेको बाँसबारीमा २५ करोडको जग्गा संस्थाको नाममा रहेको जानकारी गराए ।

सहकारीको लगानी घरजग्गामा मात्रै नभएर रेडियो उपत्यका, उपभोक्ता सहकारी संस्था, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा ९५ लाख २७ हजार ४०० रुपैयाँ लगानी गरेको जनाएको छ । २०८० जेठ मसान्तसम्म संस्थाको नोक्सानी १६ करोड ७ लाख ५३ हजार ७२६ रुपैयाँ रहेको छ ।

प्रबन्धक श्रेष्ठले साउनबाट बैंक ब्याज घट्नेर सरकारले कित्ताकाट खोल्न लागेकाले सबैको पैसा फिर्ता गर्न संस्था तयार रहेको बताए । ऋणीले ऋण नतिर्दा र सबैले एकैपटक बचत फिर्ता लिन आउन समस्या भएको उनको भनाइ छ ।

संस्थासंग धितो नभएको ऋण ४९ करोड ३१ लाख १५ हजार रहेको छ भने उठाउनुपर्ने ब्याज १० करोड १२ लाख २१ हजार भन्दा बढी छ ।

प्रकाशित : २९ असार २०८०, शुक्रबार २२:१४