ऋण तिर्न ऋणीलाई बागमती प्रदेशकाे ताकेता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ऋण तिर्न ऋणीलाई बागमती प्रदेशकाे ताकेता



हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेश मातहतका सहकारीबाट ऋण लिएर तिर्न बिलम्व गर्ने ऋणी सदस्यलाई समयमै ऋण तिर्न ताकिता गरेको छ ।

मन्त्रालयले बिहीबार एक सूचना प्रकाशन गरेर सहकारीका सदस्यलाई ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी सहकारीमा देखिएको समस्यालाई समाधान गर्न सहयोग गर्न अनुरोध गरेको हो ।

मन्त्रालयले ‘ऋणी सदस्यहरुले समयमा नै आफूले भुक्तान गर्नुपर्ने सावाँ तथा ब्याज विभिन्न बहानाबाजी एवं केही पक्षको सहकारी संस्थाको ऋण तिर्नु नपर्ने भन्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपुर्ण अभिब्यत्तिको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यहरुको बचत फिर्ता गर्न असहज परिस्थिति सृजना भएको भन्ने गुनासो प्राप्त भएको’ सूचनामा उल्लेख गरेको छ ।

सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणीहरुले तोकिएको समय भित्र ऋणको सावाँ तथा ब्याज चुक्ता नगर्दा केही संस्थाहरुमा तरलताको समस्या उत्पन्न भएर सदस्यहरुको बचत फिर्ता गर्न नसकेको पाईएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले समयमा ऋण नतिर्ने सहकारीका ऋणी सदस्यहरुको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्रि गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सकिने कानुनी व्यबस्था समेत रहेको स्मरण गराएको छ ।

‘सहकारी ऐन, नियमावली, निर्देशिका एवं मापदण्डको वर्खिलाप नहुने गरी जुन सम्झौता वा शर्त बमोजिम ऋण लिएको हो सोहि बमोजिम ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी सहकारीमा देखिएको समस्यालाई समाधान गर्न सहयोग गरीदिनु हुन सम्पूर्ण ऋणी सदस्यहरुमा अनुरोध छ,’ सूचनामा उल्लेख छ ।

प्रकाशित : २८ असार २०८०, बिहीबार १९:२८