राष्ट्र बैंकले मलेसियाको म्याक्समनीसँगको विप्रेषण कारोबारमा लगायो प्रतिबन्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले मलेसियाको म्याक्समनीसँगको विप्रेषण कारोबारमा लगायो प्रतिबन्ध



काठमाडौं । नेपाल राष्ट्र बैंकले मलेसियाको म्याक्समनी एसडीएन बीएचडीसँगको विप्रेषण कारोबारमा प्रतिबन्ध लगाएको छ।राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार एक सूचना जारी गरी म्याक्समनीसँगको विप्रेषण कारोबार प्रतिबन्ध लगाइएको जानाएकाे छ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था, विप्रेषण कम्पनी, अन्य इजाजतपत्र प्राप्त कम्पनी, सरोकारवाला व्यक्ति तथा निकायले म्याक्समनीसँग बक्यौताको भुक्तानी लिने कार्यबाहेक अन्य कुनै पनि कारोबार नगर्न विभागले निर्देशन दिएको छ।

यसअघि पनि विप्रेषण कारोबारबापतको रकम नेपाली इजाजतपत्रप्राप्त निकायलाई भुक्तानी नगरेको भन्दै राष्ट्र बैंकले २०७५ मंसिर १२ गते र २०७५ फागुन २ गते परिपत्रमार्फत म्याक्समनीसँगको कारोबारमा प्रतिबन्ध लगाइएको थियो। पछि म्याक्समनीले कुल बक्यौता रकममध्ये आंशिक रकम भुक्तानी गरेपछि राष्ट्र बैंकले २०७६ माघ ५ गते सूचनामार्फत प्रतिबन्ध फुकुवा गरेको थियो।

त्यस्तो प्रतिबन्ध फुकुवा गर्दा तोकिएको सर्तहरु पालना नगरेको भन्दै राष्ट्र बैंकले अर्को व्यवस्था नभएसम्मका लागि म्याक्समनीसँगको विप्रेषण कारोबार प्रतिबन्ध गरिएको जनाएको छ।

प्रकाशित : २८ असार २०८०, बिहीबार १७:१७