११ महिनामा बैंकिङ प्रणालीमा पठाइयो ५२ खर्ब ५३ अर्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

११ महिनामा बैंकिङ प्रणालीमा पठाइयो ५२ खर्ब ५३ अर्ब



काठमाडौं । तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनामा साढे ५२ खर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाएको छ। राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ महिनासम्म तरलता व्यवस्थापनका लागि विभिन्न उपकरणको प्रयोग गरी ५२ खर्ब ५३ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाइएको हो।

समीक्षा अवधिमा रिपोमार्फत ४ खर्ब १४ अर्ब ४७ करोड रुपैयाँ, सोझै खरिद बोलकबोलमार्फत ८९ अर्ब ७० करोड रुपैयाँ, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २७ अर्ब ११ करोड रुपैयाँ र ओभरनाइट तरलता सुविधा २० खर्ब २१ अर्ब ८७ करोड गरी कुल ५२ खर्ब ५३ अर्ब १२ करोड (कारोबारमा आधारित) तरलता प्रवाह गरिएको राष्ट्र बैंकले जनाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणमार्फत राष्ट्र बैंकले खुद ८५ खर्ब २२ अर्ब १० करोड रुपैयाँ तरलता प्रवाह गरेको थियो। समीक्षा अवधिमा राष्ट्र बैंकले रिभर्स रिपोमार्फत ५ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ५ अर्ब २६ करोड खुद खरिद गरी ६ खर्ब ८७ अर्ब ४२ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ४७ करोड खुद खरिद गरी २ खर्ब ९९ अर्ब ६२ करोड तरलता प्रवाह गरिएको थियो।

समीक्षा अवधिमा अमेरिकी डलर ४ अर्ब ३० करोड बिक्री गरी ५ खर्ब ६२ अर्ब १९ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ४ अर्ब ४० करोड बिक्री गरी ५ खर्ब २९ अर्ब ७४ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।

चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुको ३६ खर्ब ४० अर्ब २१ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को ३ खर्ब २१ अर्ब १७ करोड गरी कुल ३९ खर्ब ६१ अर्ब ३८ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको २५ खर्ब ७६ अर्ब ६० करोड र अन्य वित्तीय संस्थाहरुको २ खर्ब ९८ अर्ब ९१ करोड गरी कुल २८ खर्ब ७५ अर्ब ५१ करोडको अन्तरबैंक कारोबार भएको थियो।

प्रकाशित : २५ असार २०८०, सोमबार १६:४१