पर्यटन प्रर्वद्धनको लागि ४५ भन्दा बढी जिल्ला पार गर्दै ‘ताप्लेजुङ–दार्चुला बाइक टूर’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पर्यटन प्रर्वद्धनको लागि ४५ भन्दा बढी जिल्ला पार गर्दै ‘ताप्लेजुङ–दार्चुला बाइक टूर’



काठमाडौँ। पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ ५ जनाको एक समूह पूर्वी नेपालमा पर्ने ताप्लेजुङ देखि सुदुर पश्चिमको जिल्ला दार्चुलासम्म बाईक यात्रा गरेको छ। पर्यटन पत्रकार तथा कलाकार सहितको उक्त समूहले ‘ताप्लेजुङ–दार्चुला बाइक टूर’ जेठ १० गते देखि जेठ २५ गतेसम्म गरेको हो। चार जना पत्रकार र एक जना कलाकार सम्मेलित उक्त टिम जेठ १० गते काठमाडौँबाट हिडेसँगै ६ प्रदेशका करिब ४५ जिल्ला पार गर्दै ४ हजार किलोमिटर भन्दा लामो दुरीको यात्रा गरेको हो।

उक्त समूहले यात्राको क्रममा स्थानीय व्यक्ति, संघसंस्था तथा पालिकाहरुसँग छलफल समेत गरेको छ। यात्राका संयोजक विष्णु विवेक विश्वकर्माले नेपालमा पर्यटन प्रवृद्धनको लागि नयाँ दृष्टिकोणबाट सम्भाव्यता अध्ययन गर्ने उद्देश्यका साथ यात्रा गरेको बताए। ‘पर्यटन प्रर्वद्धन, जलवायु परिर्वतनको असर र दिगो पर्यटन विकासको मुद्धा बोकेर हिडेका हौँ।’ संयोजक विवेकले भने, ‘ठाउँठाउँमा उद्देश्य अनुरुप सरोकारवालाहरुसँग छलफल पनि गर्यौ।’

जेठ १४ गते सुदूरपूर्वी जिल्ला ताप्लेजुङको सदरमुकाम फुङलिङबाट औपचारिक यात्रा सुरु गरेको टोली दशौँ दिनमा सुदूरपश्चिमको दार्चुला पुगेर पत्रकार सम्मेलन पनि गरेको थियो। दार्चुलाको सदरमुकाम खलङ्गा प्रवेश गरेको समुहले दुहुँ गाउँपालिका–२ स्थित हिकिला गाउँमा पुगेर गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयसँग सो क्षेत्रमा पर्यटनको सम्भावना र चुनौती, पर्यटकीय आकर्षण, प्रवर्द्धन, जलवायु परिवर्तन लगायत विषयमा अन्तर्क्रिया गरेको थियो।

टोलीसँगको अन्तरक्रियामा बोल्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले पत्रकार र कलाकार सम्मिलित टोलीको यस यात्राले दार्चुलाको मात्रै नभएर समग्र देशको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताएकि थिईन्।

समूहले यसरी नै पाँच वटा प्रदेशको विभिन्न स्थानमा स्थानीय जनप्रतिनिधि, पर्यटन सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि लगायत स्थानीय सरोकारवालाहरूसँग पर्यटन प्रवर्द्धन, पर्यटनमा जलवायु परिवर्तनको असर लगायत विषयमा छलफल गरेको छ ।

कोशी प्रदेशको ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको चितवन, लुम्बिनी प्रदेशको लुम्बिनी, बर्दिया र सुदूरपश्चिम प्रदेशको दार्चुलामा स्थानीय जनप्रतिनिधि, प्रशासनिक निकायका महत्त्वपूर्ण व्यक्ति तथा पदाधिकारी, उद्योग वाणिज्य सङ्घ, हान, नाट्टा, टान लगायतका सङ्घ संस्थाका प्रतिनिधि र स्थानीयसँग अन्तरक्रिया गरेको हो । संयोजक विष्णु विवेकले भने, “यात्राका क्रममा हामीले एक हजारभन्दा बढी लोकल स्टेकहोल्डरहरूसँग छलफल गर्‍यौँ । उहाँहरूका भनाइहरू सुन्यौँ । हाम्रा अनुभवहरू पनि सुनायौँ ।”

आफ्नो संयोजनमा टिमले गरेको यो यात्रा ऐतिहासिक भएको र यसले नेपालको पर्यटन प्रवर्द्धनमा निकै ठुलो योगदान पुग्ने उनको दाबी छ। मेची महाकाली यात्रा सबैले गर्ने भएपनि दार्चुला ताप्लेजुङको यात्रा गर्न मध्येपहाडी लोकमार्गको यात्रा सहज छैन । जसले गर्दा धेरैलाई मध्येपहाडी लोकमार्गमा बाइक टुर गर्न सकिन्छ भन्ने नै नभएको उनले बताए। ‘दार्चुला देखि ताप्लेजुङ सम्मको यति लामो बाईक टुर सम्भवत पहिलो होला। काठमाडौँ, चितवन र पोखरा मात्रै भन्ने बानी छोडेर कम्तीमा सुदुर पूर्व जिल्ला ताप्लेजुङ र सुदुर पश्चिम जिल्ला दाचुर्ला पुग्यौँ।’ उनले भने, ‘‘मेची–महाकालि’ जसरी आफैमा स्लोगन जस्तो भएको छ । त्यसरी, नै नेपालको पर्यटनमा ‘दार्चुला–ताप्लेजुङ’ एउटा स्लोगन बन्नुपर्छ भन्ने लाग्छ। मध्यपहाडि लोकमार्गको यात्रा गरिसकेपछि सम्पुर्ण नेपालको आवरण बुझिन्छ।’ उनले भने।

यात्राको क्रममा प्लाष्टिक जन्य पदार्थको आतंक रहेको र त्यसले दिगो पर्यटन विकासमा असर पार्ने हुँदा सरोकारवालाहरुसँगको छलफलमा यस विषयमा कुराहरु उठाएको उनले बताए। त्यस्तै पछिल्लो समय विश्वकै समस्याको रुपमा रहेको जलवायु परिर्वतनको पनि पर्यटन क्षेत्रमा असर परिसकेको र यस विषयमा स्थानीय तवरमा छलफल गरेपनि पुन केन्द्रिय स्तरमा समेत छलफल गर्ने तयारीमा रहेको उनले बताए। ‘हामीले यात्रामा प्लाष्टिकको आतंक देखि लिएर नेपालको पर्यटनमा असर पारिरहेको जलवायु परिर्वतनको सम्बन्धमा समेत केही विषयहरु पाएको छौँ। यसमा स्थानीय तहका सरोकारवालाहरुसँग त सोही ठाउँमा छलफल गर्यौ। ’ संयोजक विवेकले भने, ‘यसको विषयमा केन्द्र स्तरमा केही गर्न आवश्यक ठानेर हामी पुनः सरोकारवालाहरुसँग छलफल तथा अन्तक्रिया गरि अगाडी बढ्ने तयारी गरेका छौँ।’

एनटिपी मल्टिमिडिया ग्रुपको संयोजन र नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, हान, नाट्टा, टान आदी सङ्घ संस्थाको सहकार्यमा टूरको आयोजना गरिएको हो । संघसस्थाहरुको सहकार्य भएपनि समूहले आर्थिक व्यवस्थापन भने आफैले गरेका थिए। समूहमा संयोजक विष्णु विवेक, चन्द्र तामाङ, राजाराम पौडेल, पवित्रा खड्का, चन्द्रकला कार्की दार्चुला देखि ताप्लेजुङको पुर्ण यात्रामा सहभागि भएका थिए भने केही राईडरहरु बीच(बीचमा सहभागि हुने र छुट्ने कार्य समेत भएको थियो।

प्रकाशित : १० असार २०८०, आईतवार १२:४७