कृषि बीमालेख सुचारु, सरकारले अनुदान नदिए पुनः बन्द गर्ने चेतावनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कृषि बीमालेख सुचारु, सरकारले अनुदान नदिए पुनः बन्द गर्ने चेतावनी



काठमाडौं । नेपाल बीमक संघले कृषि तथा पशुपन्छी बीमालेख बिक्री खुला गर्ने निर्णय गरेको छ । सरकारले दिनु पर्ने अनुदान उपलब्ध नगराएपछि बीमकहरुले जेठ ७ गतेदेखि बीमालेख जारी गर्न बन्द गरेका थिए ।

हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमकहरुलाई केहि आँशिक रकम उपलब्ध गराउने प्रतिवद्धता गरेकोले संघले बिक्री खुला गर्ने निर्णय गरेको हो ।

गत जेठ ३० गते कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भसालको अध्यक्षतामा मन्त्रालयका दुबै सचिवहरुको संयुक्त सहभागितामा बसेको बैठकमा अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिवद्धता भएको छ ।

यससँगै बीमक संघले आगामी असार मसान्तसम्मको लागि बीमालेख जारी गर्ने कार्य सुचारु गर्ने नेपाल बीमक संघले निर्णय गरेको छ । यदि उक्त समयभित्रमा पनि सरकारले अनुदान रकम नदिएमा पुनः बीमालेख बन्द गरिने संघको चेतावनी छ ।

प्रकाशित : ५ असार २०८०, मंगलवार १८:३४