सहकारीको बचत सुरक्षाका लागि अभियान र मन्त्रालयको यस्तो छ प्रतिबद्धता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारीको बचत सुरक्षाका लागि अभियान र मन्त्रालयको यस्तो छ प्रतिबद्धता



काठमाडाैं । सहकारी क्षेत्रमा देखिएका समस्या र निराकरण’ विषयक दुई दिने अन्तरक्रिया सम्पन्न भएको छ । बागमती प्रदेश सहकारी विकास बोर्डको आयोजनामा हेटौंडामा आयोजित गोष्ठी बुधबार ९ बुँदे प्रतिवद्धता पत्र जारी गर्दै समापन भएको हो।

प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाले गोष्ठीबाट तयार भएको ९ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए।

पत्रमा सहकारी संघसंस्थाहरुले आफ्ना सदस्यहरुको लागि आ.व. २०८०/०८१ लाई “सदस्य जागरण वर्ष” को रुपमा कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने गराउने, प्रदेश सहकारी नीति निर्माणमा बागमती प्रदेश सरकारलाई सबै संघहरुले सहयोग गर्ने र यस वर्ष बागमती प्रदेश सहकारी नीति तर्जुमा गर्ने उल्लेख छ ।

त्यस्तै, बागमती प्रदेश सरकार, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले बागमती प्रदेश भित्रका सहकारीहरुको वास्तविक अवस्थाको जानकारी प्राप्त गर्ने गरी सबै सहकारीहरुको वस्तुगत विवरण सहितको तथ्याङ्कहरु संकलन गरी प्रकाशन गर्ने, संघीय सहकारी ऐन, नियमावली र बागमती प्रदेश सहकारी ऐन, नियमावली बीचमा देखिएका दोहोरोपन हटाउन ऐन नियमावलीहरु अभियानको सुझावका आधारमा आवश्यक्ता अनुसार संशोधन गर्ने भनिएको छ।

पत्रमा भविष्यमा सहकारी अभियानमा थप क्षति हुन नदिन सबै सहकारी संस्थाहरुलाई सहकारी संघ/सहकारी बैंकले विकास गरेको सुशासन, दिगोपन विकास र स्वःनियमनका कार्यक्रमहरुमा अनिवार्य समावेश गराउँदै लैजाने, सहकारी संस्थाहरुलाई उत्पादन तथा बजारीकरणका आधारमा अनुदान र उनीहरुको सीप विकासका लागि आवश्यक तालिम कार्यक्रमहरुको व्यवस्था मन्त्रालयले मिलाउने, बागमती प्रदेश भित्रका सबै सहकारी संघहरुको संस्थागत विकासका लागि आवश्यक सहयोग गर्ने, बागमती प्रदेश सरकारले तयार गरेको सहकारी संघरसंस्था संचालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड २०७९ पूर्ण रुपमा कार्यन्वयन गर्न मन्त्रालयले आवश्यक व्यवस्था गर्ने र सहकारी अभियानको पूँजीको संरक्षण गर्ने दायित्व अभियान र मन्त्रालय दुवैको हो ।

‘सहकारी अभियान र मन्त्रालय सदस्यहरुको सम्पूर्ण बचतकर्ताहरुको बचत पूर्ण सुरक्षाका गर्ने प्रतिवद्धता जाहेर गर्दछौं र सहकारी संस्थाहरुलाई कानुनी व्यवस्था बमोजिम स्वःनियमनमा सञ्चालन गर्ने गराउन प्रतिवद्धता व्यक्त गर्दछौं’ घाेषणामा भनिएकाे छ । कार्यकारी उपाध्यक्ष देवकोटाले प्रतिवद्धतामा रहेका विषयवस्तुलाई आफ्नो जिल्लागत संघ र प्रारम्भिक संस्थाहरुलाई कार्यान्वयन गर्न गराउन सबैमा आग्रह गरेका छन् ।

देवकोटाकै अध्यक्षतामा भएको समापन कार्यक्रममा बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सचिव गोविन्द प्रसाद रिजालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष एंव संविधान सभा सदस्य ओमदेवी मल्ल, प्रदेश सहकारी रजिष्ट्रार राधाकृष्ण खतिवडा, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमराज पाठक, नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल जडिबुटी सहकारी संघ केन्द्रीय अध्यक्ष ईश्वरीराज पाण्डे, प्रदेश सहकारी संघको अध्यक्ष रामशरण घिमिरे, लगायतले आफ्नो भनाई राखेका थिए।

प्रकाशित : ३१ जेष्ठ २०८०, बुधबार १६:३७