खोटाङमा टेलिकमको आक्रमक योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

खोटाङमा टेलिकमको आक्रमक योजना



खोटाङ, २८ माघ । नेपाल टेलिकमले खोटाङ जिल्लामा टेलिफोन सेवा विस्तारका लागि आक्रमक योजना अगाडी सारेको छ । सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै नेपाल टेलिकम खोटाङले जिल्लाका १६ स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी गरेको हो ।

दिक्तेलको पुरानो बेसक्याम्प र रत्नपार्कमा थ्रीजी सहितको जिएसएम मोबाइल टावर जडान गर्ने तयारी गरेको टेलिकमले यसै चालु आर्थिक वर्षभित्र जिल्लाका थप १४ स्थानमा पनि टेलिफोन टावर जडान गर्ने तयारी गरेको हो ।

टेलिफोन टावर जडान गर्न भौतिक तथा प्राविधिक अध्ययन भइसकेको र सामान पनि ल्याउन थालिएको टेलिकमका प्रमुख भरोसी साहले जानकारी दिए । “सदरमुकाम दिक्तेलकै केही क्षेत्र र जिल्लाका धेरै ठाउँबाट मोबाइलले राम्रो काम नगरेको जनगुनासो आएको छ,” उनले भने , “टेलिफोन टावर जडान गरेपछि सेवाग्राहीको सबै समस्या समाधान हुन्छ ।”

टेलिकमले दिक्तेलको दुई ठाउँका साथै बाहुनीडाँडा, बाम्राङ, बराहपोखरी, खार्पा, बतासे, सप्तेश्वर, बुइपा, फेदी, रतन्छा, सल्ले, स–छितापोखरी, सावाकटहरे, सिम्पानी र काहुले गाविसमा टावर जडान गर्नेछ । टेलिफोन टावरका लागि आवश्यक उपकरण ल्याउने काम भइरहेको टेलिकमले जनाएको छ । त्यसो त खोटाङ पहिलेको भन्दा सञ्चार सुविधामा अग्रस्थानमा आएको छ ।

यसअघि जिल्लामा तीनसय ५० थान ल्यान्डलाइन टेलिफोन र केही सङ्ख्यामा मोबाइल सेवा सञ्चालनमा आएको जिल्लामा अहिले करिब दुई हजारको हाराहारीमा ल्यान्डलाइन टेलिफोन विस्तार गरिएको छ ।

प्रकाशित : २८ माघ २०७३, शुक्रबार ०५:२४