वैशाखमा महँगी दर घट्यो, ७.८७ प्रतिशत पुगेको मुद्रास्फीति ७.४१ प्रतिशतमा सीमित, कुनमा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

वैशाखमा महँगी दर घट्यो, ७.८७ प्रतिशत पुगेको मुद्रास्फीति ७.४१ प्रतिशतमा सीमित, कुनमा कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० वैशाखमा महँगी दर घटेको तथ्यांक सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार २०८० वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २६.६१ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १३.०८ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.२७ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.६८ प्रतिशत, तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७९ वैशाख महिनामा यी क्षेत्रहरुमा क्रमशः ७.३९ प्रतिशत, ८.१५ प्रतिशत, ७.८९ प्रतिशत र ८.२१ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित : २६ जेष्ठ २०८०, शुक्रबार १३:४७