विश्व वातावरण दिवसको अवसरमा नबिल बैंकले ल्यायो ‘नबिल दिगो घरकर्जा’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

विश्व वातावरण दिवसको अवसरमा नबिल बैंकले ल्यायो ‘नबिल दिगो घरकर्जा’



काठमाडौं। नबिल बैंकले सस्टेनेबल हाउजिङ लोन योजना ल्याएको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर यो योजना ल्याएको जनाएको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले दिगो बैंकिङ योजनाअनुसार होम लोन दिन लागिएको बताए । बैंकलेस्मार्ट पानी र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँगको सहकार्यमा यो योजना ल्याएको उनले जानकारी दिए ।

विद्युत खपत कम गर्ने र पानीको पुनस् प्रयोग बढाउनेलाई सहजै ऋण दिने बैंकले जनाएको छ । बैंकले यो योजनामा सहभागी हुनेलाई ७ वर्षसम्मका लागि आधार दरमा १ प्रतिशत प्रिमियम थपेर वा १०‍.४९ प्रतिशत ब्याजदरमा फिक्स्ड कर्जा दिनेछ ।

कर्जाको अवधि २० वर्षको हुनेछ । कर्जा लिएको ७ वर्षपछि आधारदरमा न्यूनतम प्रिमियम थप गरिने बैंकले जनाएको छ । कर्जा लिनेले २ लाखसम्म क्रेडिट कार्ड पाउनेछन् । क्रेडिट कार्डका लागि शुल्क तिर्नुपर्ने छैन । कर्जाको सीमा न्यूनतम ७ लाखदेखि अधिकतम ५ करोड रुपैयाँसम्म तोकिएको छ ।

अध्यक्ष उपेन्द्र पौडेलले बैंकले आगामी दिनमा विभिन्न सरोकारवाला पक्षको चाहनाअनुसार लगानी गर्ने बताए । ‘बैंकले एकैखाले क्षेत्रमा मात्रै कर्जा लगानी गर्दैन,’ उनले भने, ‘सबैको चाहनाअनुसार कर्जा विस्तारका क्षेत्र थपिँदै जान्छन् ।’ उनले नवीकरणीय ऊर्जा प्रयोग गर्नेलाई प्राथमिकतामा राखेर कर्जा दिइने जानकारी दिए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले बैंकले दिएको कर्जामध्ये २५ अर्ब बढी हाउजिङमा गएको बताए । उनका अनुसार ६ हजार २ सयभन्दा बढीले उक्त कर्जा लिएको जानकारी दिए ।

कर्जा पाउनका लागि आन्तरिक उपकरण प्रयोग गर्ने, विद्युत कम प्रयोग गर्ने (घर बनाउँदा प्रयोग भएका उपकरण प्रकाश आउने खालका प्रयोग गर्ने) र घरमा वैकल्पिक ऊर्जा प्रयोग गरेको हुनुपर्ने सर्त बैंकले राखेको छ ।

प्रकाशित : २२ जेष्ठ २०८०, सोमबार १५:५२