काठमाडौं । नेपाल राष्ट्र बैंकले जेठ २२ गते सोमबार ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको नयाँ तथा २५ अर्ब ८७ करोड ५० लाख बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।
सरकारलाई आन्तरिक ऋण उठाउनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्न लागेको हो । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार जारी हुनेछ । बैंकले २८ दिन अवधिको ८ अर्ब, ९१ दिन अवधिको ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ, १८२ दिन अवधिको १० अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ६ अर्ब ८३ करोड रुपैयाँ गरी कुल ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ ।बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।
राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी असार १९ गते, ९१ दिन अवधिको ट्रेजरी भदौ १९ गते, १८२ दिन अवधिको मंसिर १९ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ जेठ २२ गते परिपक्व हुनेछ ।
यसअघि बैंकले २८ दिन अवधिको ४ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १३ करोड रुपैयाँ, १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको १२ अर्ब रुपैयाँ गरी कुल २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।
सरकारले जारी गरेको पछिल्लो ट्रेजरी बिल्सको डिस्काउन्ट रेट २८ दिनेको ७.५४ प्रतिशत कायम भएको छ । त्यसैगरी ९१ दिने ट्रेजरी बिल्सका ९.१६, १८२ दिनेको ९.१३ र ३६४ दिने ट्रेजरी बिल्सको ८.८० प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।
Comment